कीर्तिपुर अस्पतालमा उपचार गराउँदा ५० प्रतिशत छुट
काठमाडौं– कीर्तिपुर नगरपालिकाले स्वास्थ्य र शिक्षामा नगरबासीलाई विशेष छुट दिने भएको छ ।नगरपालिकाले कीर्तिपुर अस्पतालमा उपचार गराउने स्थानीयलाई उपचारमा ५० प्रतिशत छुट र सामुदायिक कलेजमा स्नातक तहका विद्यार्थीलाई शतप्रतिशत छुट दिनेछ ।
यसका लागि नगरपालिकाले अस्पताल र कलेजसँग सम्झौता भएको छ ।
नगरपालिकाले नगरबासी बिरामीको उपचार गरेबापत अस्पताल व्यवस्थापनका लागि आर्थिक वर्ष २०७९÷८० मा ८० लाख रुपैयाँ बजेट दिनेछ। यसको ५० प्रतिशत अहिले नै उपलब्ध गराउने सम्झौता भएको छ ।नगरपालिकाका अनुसार अस्पतालमा वार्ड, परामर्श, इमर्जेन्सी, ल्याब, फिजियोथेरापी, डेन्टल सेवामा ५० प्रतिशत छुट हुनेछ। क्याबिन, आईसीयू, सिटी स्क्यान, अल्ट्रासाउन्डमा २५ प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुट हुनेछ ।
भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाले आवश्यकताअनुसार सहयोग उपलब्ध गराउन सक्ने सम्झौतामा उल्लेख छ ।अस्पतालले बिरामीको उपचारका लागि प्रतिव्यक्ति अधिकतम ६० हजार रुपैयाँ वहन गर्ने र सोभन्दा बढी खर्च भए अस्पतालको दोस्रो पक्ष, जनस्वास्थ्य सरोकार ट्रस्ट नेपालले क्याबिनमा बाहेक २५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।
यसका लागि नगरपालिकाले उपलब्ध गराएको उपचार सहुलियत कार्ड पेस गर्नुपर्नेछ। उक्त कार्डको प्रयोग गरी काठमाडौं मोडल अस्पतालबाट पनि २५ प्रतिशत छुट लिन सकिने नगरपालिकाले बताएको छ ।नगरपालिकाले एक घर एक स्नातक कार्यक्रम पनि सुरु गरेको छ । नगरपालिकाले यसका लागि मंगल बहुमुखी क्याम्पससँग सम्झौता गरेको छ ।स्थानीय विद्यार्थीले कलेजमा भुक्तानी गर्नुपर्ने मासिक पढाइ शुल्कमध्ये ६० प्रतिशत नगरपालिकाले बेहोर्ने र बाँकी ४० प्रतिशत कलेजले छात्रवृत्ति उपलब्ध गराई निःशुल्क शिक्षा उपलब्ध गराउने सम्झौता भएको हो ।
आर्थिक वर्षबाट स्नातक प्रथम वर्षबाट छात्रवृत्ति कार्यक्रम सुरु हुने र चौथो वर्षसम्म निरन्तरता दिइने सम्झौतामा उल्लेख छ ।







