राजा वीरेन्द्रको सालिक राख्न खोज्दा नेपालगञ्जस्थित धम्बोजी चोक तनावग्रस्त
बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) तनावग्रस्त भएको छ । स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने प्रयासमा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि तनाव भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ ।

२०६२/६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको सालिक तोडफोड भएको थियो । त्यसपछि वीरेन्द्रको सालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो । सो स्थानमा आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरु वीरेन्द्रको सालिक पुनःस्थापना गर्न भेला भएका थिए ।
उनीहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको सालिक राखेका थिए । तर सालिक ‘फिक्स्ड’ गर्न नपाउँदै प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले वीरेन्द्रको सालिक त्यहाँबाट प्रहरीले हटाइसकेको छ ।









