फोर्स ल्याडिङ्गका क्रममा माउन्टेनको हेलिकप्टर दुर्घटना
आश्विन ९, २०७३- बिरामी लिन सोलुखुम्बुको जुबिङ्ग पुगेको माउन्टेन हेलिकप्टर्स प्रालिको इक्यूरीयल हेलिकप्टर फोर्स ल्याडिङ्गका क्रममा दुर्घटना भएको छ ।
नागरिक उड्डयन कार्यालय लुक्लाका अनुसार, लुक्ला बजारदेखि करिब ८ किलोमिटर उत्तर फाप्लुनजिकै खुट्टा भााचिएको बिरामी उपचारका लागि उद्धार गर्न गएको हेलिकप्टरले टेकअफ गरिसकेपछि दुर्घटनामा परेको हो । ‘टेकअफ गर्नेबित्तिकै हेलिकप्टरको ड्यासबोर्डमा इन्जिनमा खराबी देखिएको नोटीफिकेशनको संकेत आएपछि क्याप्टेन सुरज थापाले फोर्स ल्याण्डिङ्ग गर्नलाग्दा हेलिकप्टर दुर्घटनमा पर्यो,’ लुक्ला विमानस्थल स्रोतले भन्यो । स्रोतका अनुसार हेलिकप्टरमा बिरामीसहित अन्य चारजना पनि बसेका थिए ।
धानबारीमा फोर्स ल्याडिङ्ग गरेको हेलिकप्टरको अगाडिको भागमा क्षति पुगेको छ । कम्पनीले इन्जिनियर पठाउने तयारी भइरहेको जनाएको छ ।
दुर्घटनापछि लुक्लामा रहेको श्री एयरलाइन्सको हेलिकप्टरले चालक थापासहित बिरामीलाई लुक्ला विमानस्थलसम्म ल्याइएको छ । उक्त हेलिकप्टर बिहान पौने आठ बजे लुक्लाबाट उडेको थियो । नाइनएन–एएलक्यू कल साइन भएको हेलिकप्टर नेपालमा भएकामध्ये आधुनिक हो ।
सात जनासम्म यात्रु क्षमता भएको यसको इन्जिन शक्तिशाली छ । ग्लास ककपिट भएको यो हेलिकप्टर पर्वतीय उडानका लागि उत्कृष्ट मानिन्छ ।आजको कान्तिपुरबाट







