कप्तान मल्ललाई कोरोना संक्रमण
नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको हो ।
कप्तान मल्लले आफूलाई संक्रमण देखिएको पुष्टि गरे । ‘सुरक्षा सावधानीको उपाय अपनाएकै थिएँ । कुनै लक्षण छैन’ उनले भने, ‘परीक्षण गराउँदा पोजेटिभ आएछ ।’ उनी अहिले होम क्वारेन्टाइनमै छन् ।
उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रहसमेत गरेका छन् ।
बन्द प्रशिक्षणका लागि बोलाइएका २२ मध्ये १६ खेलाडीको बुधबार स्वाब संकलन गरिएको थियो । शरद भेष्वाकर, वसन्त रेग्मी, सन्दीप लामिछाने, करण केसी, सुवास खकुरेल र कुशल मल्लले भने स्वाब दिएका छैनन् ।
रेग्मीलाई यसअघि नै कोरोना संक्रमण देखिएकाले स्वाब दिन नआएका हुन् । शरद र सुवास पारिवारिक कारणले स्वाब दिन नपुगेका हुन् भने करण उपत्यका बाहिर छन् । कुशल कक्षा १२ को परीक्षाा दिइरहेका छन् भने सन्दीपले एक साता परिवारसँग बसेर प्रशिक्षणका लागि आउनेछन् ।
स्टाफ प्रदीप लामालाई पनि कोरोना संक्रमण देखिएको छ । क्यान सचिव अशोकनाथ प्याकुरेलका अनुसार काठमाडौंमै घर भएका खेलाडीहरू होम क्वारेन्टाइनमा र बाहिरका खेलाडी होटल आइसोलेसनमा बस्नेछन् ।
थप ५ खेलाडी बन्द प्रशिक्षणमा
क्रिकेट संघले थप ५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । विक्रम शोव, अनिलकुमार साह, कुशल भुर्तेल, ऋत गौतम र लोकेश बमलाई प्रशिक्षणमा बोलाइएको हो ।







