कोरोना खोप ल्याउने जिम्मा तीन सचिवलाई
सरकारले कोरोना भ्याक्सिन समयमै आपूर्ति गर्न सचिवस्तरको समिति गठन गरेको छ । अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको तीन सदस्यीय समिति गठन भएको हो ।
समितिले कोरोनाविरूद्ध खोपबारे अध्ययन गरी नेपाल ल्याउने प्रक्रियाबारे पनि तयारी गर्नेछ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त समिति गठन गरेको एक मन्त्रीले बताए ।
‘यो समितिलाई कोरोनाको भ्याक्सिन कहाँ बनेको छ, खोज्ने र छिटो माध्यमबाट कसरी नेपाल ल्याउन सकिन्छ भन्ने प्रक्रियासमेत मिलाउने गरी जिम्मेवारी दिइएको छ,’ ती मन्त्रीले भने ।
खोप समयमै ल्याउन स्रोत व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने पनि सरकारको भनाइ छ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको चैतसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । सरकारले कोरोना परीक्षण र उपचार पनि निःशुल्क गर्ने भएको छ ।
सर्वोच्चले सरकारलाई आदेश दिँदै उपचार र परीक्षण निःशुल्क गर्न भनेको थियो । गत २ कात्तिकदेखि कोरोना परीक्षण र उपचार खर्च विपन्नबाहेक अरू आफैंले बेहोर्नुपर्ने निर्णय गरेपछि सरकारको आलोचना भएको थियो ।







