बदलिँदै गठबन्धनको आन्दोलन
आन्दोलनका बाँकी कार्यक्रम आज सार्वजनिक गर्ने
जेष्ठ ४, २०७३- सिंहदरबार पस्ने नाकामा दुई दिन धर्ना दिएको संघीय गठबन्धन मंगलबार बालुवाटार पुग्यो । प्रधानमन्त्री निवास घेर्न गएका प्रदर्शनकारीमा अधिकांश मधेसी महिला थिए । गठबन्धनमा आबद्ध मधेसवादी दलले आन्दोलनमा सहभागी हुन उनीहरूलाई काठमाडौं ल्याएका हुन् । छिटफुट तनाव र झडपबाहेक बालुवाटार धर्ना शान्तिपूर्ण रूपमा सकिएको थियो ।
गठबन्धनले बुधबार दिउँसो १ बजे शान्तिबाटिकामा सभा गर्ने निर्णय गरेको छ । सभालाई गठबन्धनमा आबद्ध २९ जातीय क्षेत्रीय दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । गठबन्धनले बुधबार बिहान बैठक गरी आन्दोलनका बाँकी कार्यक्रम सार्वजनिक गर्ने नेताहरूले जानकारी दिए । आन्दोलन काठमाडौंमै केन्दि्रत गर्ने कि जिल्लामा फर्काउने भन्नेमा गठबन्धनभित्र बहस भइरहेको छ । काठमाडौं केन्दि्रत भए भित्री बस्ती लक्षित कार्यक्रम ल्याउने, नत्र जिल्ला र क्षेत्रीय सदरमुकाम केन्दि्रत कार्यक्रम तय हुने एक नेताले जनाए आजको कान्तिपुरमा समाचार छ ।







