सिन्धुलीमा मधुगंगा महादेवको दर्शन गर्न गएको एकको हत्या
सिन्धुलीको मधुगंगा महादेव मन्दिरको दर्शन गर्न गएका एक दर्शनार्थीको हत्या भएको छ । दुधौली नगरपालिका २ स्थित मधुगंगा महादेव मन्दिरको दर्शन गर्न गएको एक दर्शनार्थीको आफ्नै साथीहरूको समूहले आपसी विवादमा हत्या गरेर फरार भएका छन् ।
मन्दिर दर्शन गर्नका लागि गएका एक दर्शनार्थीको समूहले एक जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले अनुमान लगाएको छ । मृतकको पहिचान खुलेको छैन, घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वाज सुवेदीले भन्नुभयो, स्थानीय पदमबहादुर घिसिङको मतान(गोठ)मा एक पुरुषको सब फेला परेको छ, पुरुषको छातीमा चोट लागेको देखिन्छ, नजिकै चक्कु र हँसिया भएकाले धारिलो हतियार प्रयोग भएको अनुमान लगाएका छौ ।
दुधौली नगरपालिका २ का वडा अध्यक्ष रितेश राउतले तीर्थयात्रीको हत्या भएको पुष्टि गर्नुभयो । हिँडेर आएका तीर्थयात्रीहरु मतानमा आराम गर्न बसेका रहेछन्, सोही समयमा विवाद भएको हुनसक्ने अनुमान छ, समूहमा आएका अरू फरार भएका छन् उहाँले भन्नुभयो । स्थानीयले गोली चलेको आवाज आएको भन्दै प्रहरीलाई खबर गरेका थिए । घटना बिहान करिब १० बजेतिरको समयमा भएको प्रहरीले जनाएको छ ।







