नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न काठमाडौं महानगरको निर्देशन
काठमाडौं–काठमाडौं महानगरपालिका शिक्षा विभागले महानगरअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ। महानगरपालिका शिक्षा विभागले आज एक सार्वजनिक सूचना प्रकाशित गरी महानगरअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको हो।
शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको महानगरले स्मरण गराएको छ। महानगरअन्तर्गतका अधिकांश संस्थागत विद्यालयको नाम यो व्यवस्थाको प्रतिकूल देखिएकाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र महानगरस्थित शिक्षा विभागमा सम्पर्क गर्न निर्देशन दिइएको छ।
सात दिनभित्रमा सम्पर्क गरी मौलिक नामकरण प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउनेसहित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने महानगरको शिक्षा विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ। विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिनसमेत निर्देशन दिइएको छ।







