विद्युत प्राधिकरणले तीन महिनामा कमायो साढे आठ अर्ब रुपैयाँ
पाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ।
चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ। आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोड रुपैयाँ (करअघि) नाफा कमाएको हो।
सूचनाको हकसम्बन्धी कानुनमा भएको व्यवस्था बमोजिम सार्वजनिक गरिएको चालु आवको तीन महिनामा सम्पादित प्रमुख क्रियाकलापहरू समेटिएको विवरण अनुसार, प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत खरिद गरेको छ। आफ्नो स्वामित्वमा रहेका विद्युतगृहरूबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी भएको छ। देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी आवको पहिलो तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको छ।