कर्णालीमा भेट्ने संकल्पसहित नवौं राष्ट्रिय खेलकुद समापन
१७२ स्वर्ण, ११० रजत र ८९ काँस्यका साथ त्रिभुवन आर्मी क्लब लगातार तेस्रो पटक पदक तालिकाको शीर्ष स्थानमा
काठमाडौं– गण्डकी प्रदेशको पोखरामा जारी नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा भेट्ने वाचा गरेर बिहीबार पोखरा रंगशालामा भव्य रूपमा सम्पन्न भएको छ ।२८ असोजबाट सुरु भएको प्रतियोगिताको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् । प्रधानमन्त्री देउवाले एक कार्यक्रमबीच दसौँ राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई राष्ट्रिय खेलकुको झन्डा हस्तान्तरण गरे ।
प्रत्येक दुई–दुई वर्षमा हुने प्रतियोगिताको दसौं संस्करण २ देखि ९ मंसिर ०८१ सालमा कर्णालीमा हुनेछ । घरेलु खेलकुदमा कोभिड–१९ पछि आयोजना भएको यहीँ नै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हो ।यसअघि राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकीमा २२ देखि २८ जेठ २०७९ सम्म हुने भनिएको थियो । तर प्राविधिक कारण प्रतियोगिताको मिति सारियो । एक सातासम्म चलेको प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, एपिएफ र एक गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा सहभागी कुल ३६ खेलका ३ सय ९६ विधामा पुरुष ३ हजार चार सय १४ र महिला दुई हजार सात सय १३ गरी कुल ६ हजार एक सय २७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा समावेश गरिएका ३६ खेल गण्डकीका आठ जिल्लामा भएको थियो ।
नवौं राष्ट्रिय खेलकुदमा चार सय चार स्वर्ण र उति नै रजत पदक समावेश थिए । खेलाडीले पाँच सय १२ काँस्यका लागि भिडेका थिए । एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ काँस्य पदकसहित कुल तीन सय ९१ पदक प्राप्त गर्दै त्रिभुवन आर्मी टिम च्याम्पियन बन्न सफल भएको छ ।
२८ असोजमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको प्रतियोगितामा दुखद दुर्घटना भयो । पाराग्लाइडिङका खेलाडी निसिम थापाको खेलकै क्रममा निधन भयो ।
समापन अवसरमा विविध सांस्कृतिक कार्यक्रम, विभिन्न प्रदेशका झाँकी आतिसबाजीसमेत गरिएको थियो ।
सहभागी खेलाडीमध्ये कान्छो खेलाडीको रुपमा रितिका बुमी रहिन् । सात वर्ष २२ दिनकी बुमी पौडी खेलाडी हुन । उनी सुदूरपश्चिमबाट सहभागी भएकी थिइन् ।

यसैगरी जेठा खेलाडीका रुपमा धनबहादुर घले रहे । प्रदेश १ बाट स्क्वास खेलमा भाग लिएका घले ६१ वर्ष ४ महिनाका हुन् ।
पोखरेली समर्थकले विभिन्न खेलमा निकै उत्साहका साथ सहभागिता जनाएका थिए । भलिबल र फुटबलमा भव्य उपस्थित रहने समर्थकको यसपटक पौडी, बक्सिङमा समेत उल्लेख्य सहभागिता रह्यो । प्रतियोगितामा थुप्रै राष्ट्रिय कीर्तिमान बने ।
विशेषः एथलेटिक्स, भारोत्तोलन, पौडीमा धेरै कीर्तिमान बने । पौडीकी डुवाना लामाले सर्वाधिक नौ स्वर्ण पदक जित्न सफल भइन् । यस्तै, एथलेटिक्सकी जयरानी थारुले पाँच इभेन्टमा पाँचमै स्वर्ण पदक जितिन् । भारोत्तोलनकी तारादेवी पुनले चौथो राष्ट्रिय खेलकुदबाट नवौंसम्म स्वर्ण पदक जित्ने कीर्तिमान बनाइन् ।

यसपटक राष्ट्रिय खेलकुदमा नयाँ कुनै संरचना निर्माण भएनन् । सन् २०१९ मा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बनेका संरचनामै प्रतियोगिता गरियो । राखेपले सुरुमा गण्डकी प्रदेशको ११ वटै जिल्लामा खेल खेलाउने भनेको थियो । तर आठ जिल्लामा मात्रै प्रतियोगिता भए ।
