एसिया कपमा पाकिस्तानले हरायो भारत
मोहम्मद रिजवान र मोहम्मद नवाजको उत्कृष्ट प्रदर्शनपछि पाकिस्तानले भारतलाई हराउन सफलता पाएको हो
काठमाडौं– पाकिस्तानले युएईमा जारी टी–२० एसिया कप २०२२ को सुपर फोरमा भारतमाथि ५ विकेटको रोमाञ्चक जित निकालेको छ ।
मोहम्मद रिजवान र मोहम्मद नवाजको उत्कृष्ट प्रदर्शनपछि पाकिस्तानले भारतलाई हराउन सफलता पाएको हो ।
योसँगै पाकिस्तानले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।जितका लागि १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम बल अगाडि नै ५ विकेट गुमाएर पूरा गरेको थियो । त्यसका लागि ओपनर मोहम्मद रिजवानले ७१ रनको उत्कृष्ट पारी खेले । उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
यस्तै, मोहम्मद नवाजले २० बलमा ६ चौका र २ छक्कासहित ४२ रनको बिस्फोटक ब्याटिङ गरे ।पाकिस्तानलाई अन्तिम १२ बलमा जितका लागि २६ रन चाहिएको थियो । १९औं ओभरमा आशिफ अलीले १ छक्का र १ चौकासहित ११ रन जोड्दा खुसदिल साहले १ चौकासहित ६ रन बनाएका थिए ।
भुवनेश्वर कुमारले एकै ओभरमा एक छक्का र दुई चौकासहित १९ रन खर्चिएपछि भारतको सम्भावना टाढिएको थियो ।अन्तिम ६ बलमा जितका लागि ७ रन चाहिएको थियो । अर्शदीप सिंहलाई दोस्रो बलमा आसिफ अलीले चौका प्रहार गर्दै पाकिस्तानलाई जित नजिक पु¥याए । तेस्रो बल डट राखेपछि तीन बलमा दुई रन चाहिएको थियो । चौथो बलमा आसिफ अली एलबीडब्लू आउट भए। तर पाँचौं बलमा इफ्तिखर अहमदले दुई रन जोड्दै जित पक्का गराए ।
भारतका रवि विश्रोई, अर्शदीपसिंह, भुवनेश्वर कुमार, हार्दिक पान्ड्या र युजभेन्द्र चहलले समान एक–एक विकेट लिए ।
यसअघि दुबई इन्टरनेशल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । उसका लागि विराट कोहलीले सर्वाधिक ६० रन बनाए ।
लगातार दोस्रो अर्धसतक प्रहार गर्ने क्रममा कोहलीले ४४ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । यसअघि कोहलीले हङकङविरुद्ध ५९ रनको इनिङ खेलेका थिए ।
यस्तै, ओपनरद्वय केएल राहुल र रोहित शर्माले समान २८–२८ रन बनाएका थिए ।उनीहरूले पहिलो विकेटका लागि ५.१ ओभरमा ५४ रन जोड्दै राम्रो सुरुआत दिलाएका थिए ।
यस्तै, दीपक होडाले १६ रन बनाउँदा ऋशव पन्त १४ रन सूर्यकुमार यादवले १३ रन बनाए । हार्दिक पान्ड्या शून्य रनमा आउट भए ।
पाकिस्तानका शादब खानले २ विकेट लिए । मोहम्मद नवाज, मोहम्मद हसनैन, नसिम साह र हरिस रौफले समान १–१ विकेट लिए ।
यसअघि समूह चरणको खेलमा पाकिस्तान भारतसँग ५ विकेटले पराजित भएको थियो । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान छन् । सुपर फोरको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको थियो ।
भारतले अब मंगलबार श्रीलंका र बिहीबार अफगानिस्तानसँग खेल्नेछ । पाकिस्तानले बुधबार अफगानिस्तान र शुक्रबार श्रीलंकासँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीबीचको फाइनल खेल आउँदो आइतबार हुनेछ । एजेन्सी







