खेलमन्त्री गहतराजले गरे एकै दिन तीन विद्यालय भवनको उद्घाटन
निर्वाचन क्षेत्रलाई शैक्षिक हबका रूपमा विकास गर्ने उद्घोष
काठमाडौं– युवा तथा खेलकुदमन्त्री एवं बाँके क्षेत्र १ का संघीय सांसद महेश्वर गहतराजले आफ्नो निर्वाचन क्षेत्रलाई शैक्षिक हबका रुपमा विकास गरिने बताएका छन् ।
स्थानीय पूर्वाधार साझेदारी सांसद विकास कोषअन्तर्गत निर्माण भएका तीन वटा विद्यालय भवन उद्घाटन गर्दै मन्त्री गहतराजले निर्वाचन क्षेत्रका विद्यालयमा प्राविधिक धारका विषय विस्तार गरी शैक्षिक हबका रूपमा विकास गर्ने उद्देश्य लिएको बताए ।
मन्त्री गहतराजले एकै दिन ३ वटा विद्यालयमा निर्मित भवन उद्घाटन गरे । टिनका छाना विस्थापित गर्ने र पक्की भवन स्थापित गर्ने अभियानअन्तर्गत राप्ती सोनारी गाउँपालिकाका विभिन्न वडाका ३ वटा विद्यालय भवन उद्घाटन गरिएको हो ।
जसअन्तर्गत मन्त्री गहतराजले राप्तीसोनारी–६ को जनसिद्धेश्वर बहुमुखी क्याम्पसको १५ कोठे भवन उद्घाटन गरेका छन् । त्यसैगरी राप्तीसोनारी–६ कमैयाडाँडामा रहेको सु–कमैया आधारभूत विद्यालयको २ कोठे भवन तथा राप्ती सोनारी–३ भवानियापुरमा रहेको सरस्वती माविको ८ कोठे पक्की भवनको समेत उद्घाटन गरिएको छ ।
कार्यक्रममा मन्त्री गहतराजले आफ्नो निर्वाचन क्षेत्रका विद्यालयमा टिनको छाना हटाई १०० वटा पक्की कोठा निर्माण गराउन सफल भएको दाबी गरे । उनले ५०० भन्दा बढी विद्यार्थीलाई पक्की भवनमा ल्याउन सफल भएको भन्दै आगामी दिनमा उक्त अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । मन्त्री गहतराजले संघीय सांसदमा निर्वाचित भएलगत्तै आफ्नो निर्वाचन क्षेत्रमा टिनको छानो विस्थापन अभियान सञ्चालन गर्दै आएको उनको सचिवालयले जनाएको छ ।
शिक्षा क्षेत्रको सुधार नगरी समग्र विकासले गति नलिने भन्दै मन्त्री गहतराजले आफ्नो मुख्य प्राथमिकतामा शिक्षा रहे पनि आगामी दिनमा निर्वाचन क्षेत्रको समग्र विकासमा केन्द्रित हुने प्रतिबद्धता जनाए । हरेक विद्यालयलाई प्राविधिक धारमा लैजानुपर्ने आवश्यकता औंल्याउँदै उनले पहिलो चरणमा निर्वाचन क्षेत्रका तीन वटै पालिकाका ४ वटा विद्यालयमा कृषि र सिभिल इन्जिनियरतर्फको पठनपाठन सुरु गरिएको जानकारी दिए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं नेकपा लुम्बिनी प्रदेश संसदीय दलको सचेतक पार्वती पुन, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पत्रकार र स्थानीयको सहभागिता थियो ।







