महिला साफ च्याम्पियन्सिपमा साढे ३ करोड खर्च अनुमान
साफ च्याम्पिनयसिप २१ भदौदेखि ३ असोजसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदै छ।
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिप आयोजना गर्न ३ करोड ४७ लाख ६८ हजार ६८० रुपैयाँ खर्च अनुमान गरेको छ।एन्फाले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो बताएको हो ।
च्याम्पिनयसिपको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङका लागि एन्फाले हन्ड्रेड स्पोर्टस् म्यानेजमेन्ट प्रालिलाई ६२ लाखमा जिम्मा दिएको छ ।
हन्ड्रेड स्पोर्टस् भारतीय बेस कम्पनी हो । ६२ लाखमध्ये २६ लाख रुपैयाँमा टिकेटिङको सम्झौता भएको साफ च्याम्पिनयसिप संयोजक तथा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले बताए।
साफका लागि भीआइपीतर्फ ५ सय र साधारण प्यारापिटतर्फ ३ सय रुपैयाँको टिकट मूल्य तोकिएको छ ।च्याम्पियनसिप आयोजनामा लागि साफले २ लाख ५० हजार सहयोग गरेको छ ।च्याम्पिनयसिपमा सहभागी टोली, म्याच अफिसियलको खानपिन र बसोबास खर्च भने साफले बेहोर्नेछ । खेल मैदान तयारी, स्थानिय यातायात र अन्य खर्च एन्फाले बेहोर्ने एन्फाका प्रवक्ता सुरेश शाहले बताए।
आउन थाले खेलाडी
साफ च्याम्पियनसिपका लागि पाकिस्तान र भुटानको टोली नेपाल आइसकेको छ ।
साविक विजेता भारत र मालदिभ्सको टोली शनिबार नेपाल आइपुग्नेछ । बाँकी बंगलादेश र श्रीलंकाको टोली आइतबार नेपाल आउनेछ ।साफ च्याम्पिनयसिप २१ भदौदेखि ३ असोजसम्म काठमाडौको दशरथ रंगशालामा हुँदै छ । नेपालले दोस्रो पटक साफ आयोजना गर्न लागेको हो ।







