साफ च्याम्पियनसिप खेल्न श्रीलंका जाने नेपाली खेलाडीको बिदाइ
साफ यू–१७ च्याम्पियनसिपमा भाग लिन शुक्रबार श्रीलंका जान लागेको राष्ट्रिय यू–१७ टोलीलाई एन्फाले बिदाइ गरेको हो।
काठमाडौं– साफ यू–१७ च्याम्पियनसिपमा भाग लिन शुक्रबार श्रीलंका जान लागेको राष्ट्रिय यू–१७ टोलीलाई अखिल नेपाल फुटबल संघ
(एन्फा) ले बिदाइ गरेको छ।
एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिवप्रसाद कोइराला, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष विराटजंग शाही, दीपक खतिवडा, महासचिव किरण राई तथा सदस्यहरू रवीन्द्र चन्द, महेन्द्र क्षेत्रीलगायत उपस्थित थिए ।
कार्यक्रमलाई कोइराला, अध्यक्ष नेम्वाङ, उपाध्यक्ष खतिवडा र महासचिव राईले सम्बोधन गर्दै प्रतियोगिताको सफलताको शुभकामना दिए ।
टोली शुक्रबार दिउँसो १ बजे श्रीलंका जाँदै छ । प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ भने नेपालसँगै भारत र भुटानसमेत रहेका छन् ।
यू–१७ टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले गत आइतबार प्रतियोगिताका लागि २४ खेलाडी फाइनल गरेका थिए । तर साफ यू–१७ च्याम्पियनसिपमा भाग लिन शुक्रबार श्रीलंका जाँदै गरेको टोलीमा समीर तामाङ परेनन् ।

नेपाली टिममा गोलकिपर कृषाल मोक्तान, समीर चन्द, रुबिन बोगटी, डिफेन्डरमा अश्विन घोरासैनी, सेमन्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दीपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धीरज विश्वकर्मा रहेका छन् ।
यस्तै, मिडफिल्डरमा प्रशान्त लक्षाम, मिराक लिङ्देन, सरोज दारलामी, हरिशराज भट्ट, लच्छु थापा, फरवार्डमा निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम रहेका छन् ।







