एसियन कप छनोट टोली घोषणा
काठमाडौं– बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि २५ सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ । नेपाली यु–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले टोलीको घोषणा गरेका हुन् ।
प्रतियोगिताका लागि टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ । सेप्टेम्बर १० देखि १८ सम्म हुने छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै राष्ट्रिय यू–२० टोलीले खेल्ने तय भएको छ ।
नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने कार्यतालिका छ ।
टोलीमा गोलकिपर ईश्वर गुरुङ, उनेश चौधरी, जियारत शेख, टोपबहादुर राना रहेका छन् । यस्तै, डिफेन्डरमा अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, अभिषेक वाइबा, जान ताम्ली, शेखर खवास, श्यान्सु भुसाल, राज ठोकरको नाम घोषणा गरिएको छ ।मिडफिल्डरमा दीपेश गुरुङ, आशीष राई, सन्दीप कार्की, जन्मेजय धामी, कृतिशरत्न छिन्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान, राकेश विश्वकर्मा, सञ्जीव लामा छनोट भएका छन् भने फर्वार्डमा निरञ्जन मल्ल र रोहन खड्गी छानिएका छन् ।







