गत वर्ष परोपकार अस्पतालबाट प्रसूति सेवा लिनेको संख्या साढे २६ हजार बढी
काठमाडौं– थापाथलीस्थित प्रसूति तथा स्त्री रोग अस्पतालले गत वर्ष २६ हजार ६०५ जनाले प्रसूति सेवा लिएको बताएको छ । अस्पतालको ६३औं वार्षिकोत्सव अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
अस्पतालका निर्देशक प्रा.डा. अमिरबाबु श्रेष्ठले अस्पतालमा शय्या अभावमा कुनै पनि बिरामीलाई फिर्ता नगरिएको बताए । त्यस्तो अवस्थामा अस्थायी शय्याको व्यवस्था गरी बिरामीको उपचार गरिएको उनले जानकारी दिए ।६३ वर्षअघि ४० शय्याबाट सुरु भएको परोपकार अस्पतालमा हाल ४९० शय्या छन् । यद्यपि अस्पतालले ४१५ शय्याको मात्र स्वीकृति लिएको छ ।विश्वकै नमुना प्रसूति केन्द्रको रूपमा स्थापित अस्पतालमा आर्थिक वर्ष २०७८÷७९ मा ३३ हजार ८५५ बिरामी भर्ना भएको तथ्यांक छ । यीमध्ये प्रसूतितर्फ २६ हजार ६०५ जनाले सेवा लिएको डा. श्रेष्ठले बताए ।
यस्तै, स्त्रीरोगतर्फ ४ हजार ९३० जनाले सेवा लिएका छन् । नवजात शिशु सघनतर्फ २ हजार ३१८ र मातृ सघनतर्फ ४२८ जनाले सेवा लिएका छन् ।अस्पतालमा आर्थिक वर्ष २०७८÷७९ मा २४ हजार ३६९ जना गर्भवती महिलाको प्रसूति डेलिभरीबाट २४ हजार ५९३ शिशुको जन्म भएको थियो । यीमध्ये ९ हजार ११८ जनाको सिजरियन सेक्सनअन्तर्गत शल्यक्रिया भएको अस्पतालले बताएको छ । स्त्रीरोग गाईनोकोलोजी शल्यक्रिया तर्फ २ हजार ७९१ जनाको शल्यक्रिया भएको निर्देशक प्रा.डा. श्रेष्ठले जानकारी दिए ।







