दुर्घटनामा परेको तारा एयरको ब्ल्याकबक्स भेटियो
मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको छ ।

दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो । टोलीका ७ सदस्यमध्येका एक विनायकजय मल्लले हवाईजहाजको ब्ल्याक बक्स भेटाएको जानकारी दिए ।
ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको सबै रेकर्ड रहने भएकाले हवाई जहाज दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ ।सोमबारसम्म भिरमा अड्किएको शव निकाल्न बाँकी थियो भने हराइरहेको अर्को एउटा शवको खोजी जारी थियो । आज बिहान भने सबै शव संकलनको काम सकिएको छ ।
घटनास्थलबाट संकलन गरिएका शव आज बिहान कोवाङ ल्याइएको र ती शवलाई काठमाडौं पठाउने तयारी भइरहेको मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीले जानकारी दिए । मानापाथी हिमालको फेदीमा संकलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको थियो ।
सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट १० शव काठमाडौं ल्याइएको थियो । ती शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आवश्यक प्रक्रिया पूरा गरी शव आफन्तलाई जिम्मा लगाइँदै छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए। सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए।
उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिएका थिए।








