काठमाण्डौको व्याप्त प्रदुषणले फोक्सोको क्यान्सरको रोगीहरु भयानकरुपमा बढ्ने
जोखिममा उपत्यकावासी
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन ले ११ वर्षअघि नै राजधानी काठमाडौंको प्रदूषण स्तरलाई ‘खतरा’ सूचीमा राखेको थियो । राजधानीको हावाको गुणस्तर त्यतिबेलै दस गुणा बढी प्रदूषित थियो। त्यतिबेलै त्यति प्रदूषित वातावरण अहिले कहाँ पुगेको होला कुनै अन्दाज नै छैन । चिकित्सकहरुले राजधानीको प्रदुषण यहि हिसाबले कायम रहिरहे आउँदो १० ÷ १२ बर्षमा फोक्सोको क्यान्सर लगायतका रोगीहरुको संख्या भयानकरुपमा बढ्ने चेतावनी दिएका छन् ।
एक जना मानिसले दिनभरिमा लगभग २२ हजार पटक श्वास फेरेको हुन्छ र त्यसको लागि २५ केजी शुद्ध अक्सिजनको आवश्यकता पर्छ । तर बढ्दै गएको वायु प्रदुषणले उपत्यकामा प्रत्येक वर्ष लगभग एक हजार छ सय जनाको मृत्यु हुने र दम लगायत विभिन्न रोगले १८ हजारभन्दा बढी प्रभावित हुने गरेको तथ्यांक छ । अन्य समयको तुलनामा जाडो महिना पुष देखि फागुनसम्म उपत्यका धेरै प्रदुषण फैलिएको हुन्छ । आम सर्वसाधारणले पटक पटक प्रदुषणले स्वास्थ्यमा निकै असर परिरहेको आवाज उठाइरहेका छन् । प्रदुषणका कारण काठमाडौँ शहरको वायु मण्डलमा कार्वन डाइअक्साइड, कार्वन, सिसा जस्ता विभिन्न हानिकारक तत्वको मात्रा बढ्दो छ, जसको कारणबाट मानिसमा दम, उच्च रक्तचाप, निम्न रक्तचाप, क्यान्सर, अचेत, हृदयघातलगायतका रोग बढेको छ र अझ बढ्ने तीव्र सम्भावना छ । आउँदो १० १२ बर्षमामा उपत्यकाबासीमा फोक्सोको क्यान्सर दम लगायतका रोगीहरुको संख्या भयावहरुपमा बढ्ने चेतावनी चिकित्सकहरुले दिएका छन् ।
कचौरा आकारको काठमाडौँ उपत्यकाको बनोट अनुसार यहाँ भएको प्रदुषित हावा उपत्यका बाहिर न्यून एकाईमा मात्र निष्काशन हुन्छ । त्यसैले पनि काठमाडौँ उपत्यकाको वायु प्रदुषण रहित राख्न आवश्यक छ । वातावरणीय प्रदुषण सँगसँगै देखापरेका समस्याको सुधार नभए अम्लीय वर्षाको गम्भीर समस्याको चापमा काठमाडौँ उपत्यका पर्न सक्ने बैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकका अनुसार यो अम्ल वर्षा (एसिड रेन) हो र यसको असर अत्यन्तै खतरनाक हुन्छ । बढ्दो प्रदुषणका कारण अम्ल वर्षा आमसमस्या बनिसकेको छ । काठमाडौँको वायुमा दश माइक्रोमिटरभन्दा साना धुलोका कण (पिएमटेन) औसतमा प्रति घनमिटर एक सय २० माइक्रोग्राम पुगेको भन्ने सरकारी आँकडा छ । स्वास्थ्यको दृष्टिकोणले यो निकै हानिकारक हो । त्यसैले सरकारले काठमाडौं उपत्यकालाई प्रदूषण मुक्त बनाउन तर्फ गम्भीर हुन् आवश्यक छ ।
source : news24








