काठमाडौँ, १७ माघ । व्यवस्थापिका–ससद्को आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक राजनीतिक अवस्था र आ–आफ्ना जिल्लाका समस्याबारे सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, वन संरक्षण, चोरी तस्करी नियन्त्रण, भूकम्पपीडितलाई गृह निर्माणको रकम तत्काल उपलब्ध गराउनुपर्ने, स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।
एक मिनेटभित्रमा आफ्ना अभिव्यक्ति प्रस्तुत गर्नुपर्ने नियम पालना गर्न नसक्दा शून्य समयमा बोल्ने अधिकांश सांसदलाई वाक्य पूरा गर्न हम्मेहम्मे परेको थियो ।
शून्य समयमा सांसदहरू बलबहादुर महत, बलराम अधिकारी, बहादुरसिंह थापा, बुद्धिसागर चौधरी, भक्तबहादुर विश्वकर्मा, भरतबहादुर खड्का, यज्ञराज सुनुवार, रञ्जनाकुमारी सरदार र रञ्जना श्रेष्ठलायत हुनुहुन्थ्यो । रासस