पोखराको विकास सरकारको प्राथमिकतामा
पोखरा, २९ पुस । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
पोखरा उपमहानगरपालिका २१ आँै नगर परिषद्को आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो – देशकै ठूलो पर्यटकीयस्थलको रुपमा रहेको पोखराको विकासप्रति सरकार प्रतिवद्ध रहेको छ ।
उपप्रधानमन्त्री महराले पोखराको समग्र विकासका लागि बृहत्तर गुरुयोजना निर्माण गर्नुपर्ने आवश्यकता औल्याउँदै पोखराको विकासले नेपालकै विकासमा महत्व राख्ने बताउनुभयो ।
“पोखरालाई एउटा स्मार्ट सिटीका रुपमा विकास गर्न राज्यको ध्यान जानु आवश्यक छ”, उहाँले भन्नुभयो, “त्यसका लागि राज्यका साथै समुदाय, निजी क्षेत्र सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।”
पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷७५ मा लामो समयदेखि करको दायरामा नआएका ठूला करदातालाई करको दायरामा ल्याउने, वातावरणीय संरक्षण, सार्वजनिक सम्पत्तिको संरक्षण, फेवाताल संरक्षण, पर्यटन तथा पूर्वाधार विकास, सहज सेवा प्रवाह, संस्कृति संरक्षण, महिला सशक्तीकरण, जनजाति, ज्येष्ठ नागरिक तथा पिछडिएका क्षेत्र विकासलगायतका विषयलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।







