‘राष्ट्रघाती संविधान संशोधन विद्येयक पारित हुन दिन्न’ : ओली
काठमाडौं, २२ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मुलुकमा रहुञ्जेलसम्म राष्ट्रघाती काम हुन नदिने बताएका छन्। उनले भने,‘एमालेजस्तो राष्ट्रवादी पार्टी यो मुलुकमा छ, त्यसैले राष्ट्रघाती काम हुन दिँदैन्।’
सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकको विरुद्धमा एमाले लगायतका विपक्षी ९ दलले शुक्रबार काठमाडौंमा आयोजना गरेको बृहत्त शक्ति प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बताए ।
उनले संविधान जारी भएको धेरै लामो समय वितिसक्दापनि कार्यान्वयन नभएको भन्दै चिन्ता व्यक्त गरे। उनले भने,‘संविधान कार्यान्वयका लागि निर्वाचन हुनुपर्छ ।’पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वर्तमान सरकार चुनाव गराउने कुरामा गम्भिर नरहेको आरोप लगाउँदै भने,‘तोकिएको समयमा चुनाव भएन भने सवैधानिक संकट आउँछ, त्यसमा हामी गम्भीर छौँ, निर्वाचन गराउनका लागि ११ महिना पनि बाँकी छैन, अहिलेको सरकारलाई निर्वाचनको चासो छैन, आयु लम्ब्याउनमा लागेका छन् ।’
अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार नै अनुचित चासोका लागि निर्माण भएको आरोप लगाए। ओलीले थपे,‘कुनै सरोकार नभएका विषय सविधान संशोधन गराउन चाहेका छन्, अहिले प्रस्ताव गरिएको संशोधनले निर्वाचनलाई कहि पनि सहयोग गर्दैन।’
उनले मधेशी मोर्चाप्रति पनि कडा टिप्पणी गरे। उनले अघि भने,‘हिजो सविधान जारी गर्न नदिनेहरु, सविधान जलाउनेहरु, च्यात्नेहरु सविधान संशोधन माग गरिरहेका छन्, राष्ट्रपतिको समक्ष पनि यो सविधान संशोधनको पक्षमा सर्वोच्चको आदेश आएको भन्छन्।’ सविधान संशोधनको नाममा तासको पत्ता पछारे जस्तै अहिलेको सरकारमा सहभागी दलहरुले गरिरहेको उनको आरोप थियो।
उनले नेपालका मैथली, भोजपुरी, अवधीलाई समाप्त पारेर हिन्दी भाषालाई ल्याउने षड्यन्त्र भएको समेत टिप्पणी गरे। उनले भने,‘हिन्दी भाषा आयो भने सबैभन्दा पहिले मैथली र भोजपुरीलाई प्रभाव पर्छ।’ ओलीले थपे,‘विहान आएका दुल्हीले दिउँसो झण्डा फरहाएर घर फर्कन्छ भन्ने कुरा सुनिहाल्नुभयो।’
उनले प्रदेशको सिमांकन हेरफेरको विषयलाई ईंगित गर्दै भने,‘नेपाललाई गज्यामज्यागमा पारेर विभाजन गर्न खोजेका छन्, हामीले संविधान संशोधन गर्ने हुँदैन भनेर कहाँ भनेको छौं र ? संशोधन गर्नुपर्छ, आवश्यकता र औचित्यको आधारमा मात्रै।’ अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डप्रति आक्रोश पोख्दै भने,‘प्रधानन्यायधिशले सल्लाह दिनुभयो रे–संशोधन प्रस्ताव अगाडि बढाउनु हुन्छ, त्यो प्रधानन्यायधिशको कुरा होइन, सर्वोच्चको कुरा होइन, प्रचण्डले गैरजिम्मेवारी अभिव्यक्ति दिँदैछन्।’
उनले आजको शक्ति प्रर्दशनलाई उल्लेख गर्दै भने,‘यो देशभक्तिको आन्दोलन हो, देशलाई समृद्धिको बाटोमा डोर्याउन यो आन्दोलन हो, तराईवासी जनता पनि यो आन्दोलनमा आएका छन्।’ उनले तराईको नाममा राजनीतिक गरि दुनु सोझ्याउनेहरुलाई यो सभामा तराईवासीको सहभागिता हेरोस् भन्दै चूनौति दिए।
ओलीले आफ्नो पार्टीले तराईमधेशमा ४० सीट जितेको तर मधेशी दलले ११ सीट मात्रै जितेको उल्लेख गर्दै भने,‘फागुनमा तराई अभियान लिएर जाँदैछौ, यो कार्यक्रमको फोटो ड्रोनले खिच्यो रे, मधेश अभियानको फोटो स्याटेलाइटबाट खिच्नुपर्छ, अब तराईका जनतालाई अलमल्याउन पाइदैन।’








