रसुवा, १८ पुस । गृह एवम् उपप्रधानमन्त्री विमलेन्द्र निधिले रसुवाको धुन्चेमा निर्मित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मको आज उद्घाटन गर्नुभयो ।
सीमा सुरक्षा, विद्युत्, भन्सार र विपद्को उद्धार कार्यमा योगदान पु¥याउँदै आएको यहाँको सशस्त्र प्रहरीेको कामको सराहना गर्दै मन्त्री निधिले उच्च मनोबलका साथ सुरक्षा कार्यमा तल्लिन रहन सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो ।
यस गुल्ममा एक सय ६० जना दरबन्दी रहेको छ ।
रु दुई करोड ४३ लाखको लागतमा छवटा भवन निर्माण गरिएका छन् । यसअन्तर्गत अधिकृत तथा जवानहरुको आवास, कार्यालय भवन तथा भान्सासमेतको संरचना रहेको प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्डेले जानकारी दिनुभयो ।
मन्त्री निधिले नेपाली काँग्रेस रसुवाका कार्यकर्तासँग पनि भेटघाट गर्नुभयो ।
यहाँ भइरहेका विकास निर्माण, भूकम्पपछिको पुनःनिर्माण र सुरक्षाको अवस्थाका बारेमा पनि उहाँले सरकारी कार्यालयका प्रमुखहरुबाट जानकारी लिनुभएको प्रजिअ सोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्री निधिको सीमावर्ती क्षेत्र टिमुरेको अवलोकन गर्ने कार्यक्रम भने प्रतिकूल मौसमका कारण स्थगन भयो । रासस