दुई कम्युनिस्ट पार्टीबीच एकता
काठमाडौँ, १७ पुस । नेकपा (माओवादी क्रान्तिकारी) र कम्युनिस्ट न्युक्लियस नेपालबीच आज एकता भएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा नेकपा (माओवादी क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्य र कम्युनिस्ट न्युक्लियस नेपालका संयोजक भूपेन्द्र न्यौपानेले संयुक्त रुपमा पार्टी एकता भएको घोषणा गर्नुभयो ।
सो अवसरमा माओवादी क्रान्तिकारीका अध्यक्ष वैद्यले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन र राष्ट्रियता बचाउन कम्युनिट शक्तिको एकताको खाँचो औँल्याउँदै मुलुकमा वैज्ञानिक समाजवाद स्थापना गर्न जनवादी क्रान्ति सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
सोही पार्टीका प्रवक्ता हरिभक्त कँडेल र वामपन्थी नेता परि थापाले विभिन्न वामपन्थी पार्टीका शीर्ष नेतृत्वमा कम्युनिस्ट सिद्धान्तप्रति विचलन आएकाले पनि जनतामा कम्युनिस्ट आदर्श र विचारप्रति भ्रम सिर्जना हुँदै गएको भनी चिन्ता व्यक्त गर्नुभयो ।
कम्युनिस्ट न्युक्लियस नेपालका संयोजक न्यौपानेले मुलुकलाई विखण्डनबाट जोगाउनुपर्ने र जनताले परिवर्तनपछि राखेका आशालाई पूरा गर्नुपर्नेमा जोड दिनुभयो । रासस







