राष्ट्रिय गौरबको आयोजनाहरुको काम द्रुतगतिमा अघि बढाउँन मन्त्री शाहीको निर्देशन
काठमाडौँ, १० पुस । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरबका आयोजनाहरुको काम द्रुतगतिमा अगाडि बढाउँन निर्देशन दिएका छन ।
मन्त्री शाहीको अध्यक्षतामा बसेको आर्थिक वर्ष २०७३- ७४ मा सञ्चालित आयोजना तथा कार्यक्रमहरूको प्रथम चौमासिक प्रगति समिक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उक्त निर्देशन दिएका हुन ।
पर्यटन मन्त्रालयका सचिव, विभागिय प्रमुख ,महाशाखा प्रमुख , शाखा प्रमुख र मन्त्रालय अन्तर्गतका निकायका प्रमुखहरु र राष्ट्रिय योजना आयोगका पयर्टन मन्त्रालय हेर्ने सहसचिवको उपस्थितिमा भएको बैंठकमा अहिले सोचे अनुरुपले काम अगाडि बढ्न नसकेको भएता पनि अर्को चौमासिक समीक्षा बैठकमा तीन गुणाले परिणाम मुखी र लक्ष्य केन्द्रीत काम अघी बढाउँन निर्देशन दिएको मन्त्री शाहीका प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिए ।
मन्त्री शाहीले राष्ट्रिय गौरबका आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिएका छन् । उनले भने,” राष्ट्रिय गौरबका आयोजना जति चाँडो सम्पन्न हुन्छ । मुलुकको आर्थिक विकासले त्यतिनै चाँडो फड्को मार्छ । त्यसैले राष्ट्रिय संकल्पका साथ तोकिएको जिम्मेवारी पुरा गर्न लाग्नुपर्छ । ”
मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख रहेको भन्दै मन्त्री शाहीले जिम्मेवारपूर्वक ढङ्गले कर्तव्यनिष्ठ भएर काम गर्ने हो भने उक्त लक्ष्य प्राप्तीका लागि कुनै कठिनाइ नरहेको बताए ।
राष्ट्रिय विकास र मुलुकको आर्थिक समृद्धिको मरूदण्डको रूपमा रहेको पर्यटन क्षेत्रको विकासलाई राष्ट्रले पनि प्राथमिकतामा राखेले त्यसै अनुरुप काम कारबाही अगाडि बढाउँनु पर्नेमा मन्त्री शाहीले जोड दिए ।
मन्त्री शाहीले मन्त्री र सचिवबीच, सचिव र सहसचिवबीच र मातहातका निकायका कर्मचारीसँग भएको कार्य सम्पादन सम्झौता अनुसारको कार्य प्रगति हुनका लागि अहिलेको कार्यशैली परिवर्तन हुनुपर्ने भन्दै अगामी समिक्षामा दुई गुणाले काम अगाडि बढेको महशुश गर्न पाउने विश्वास व्यक्त गरे ।







