आश्वासन र आशाको भुलभूलैयामा बित्यो एक बर्ष !
अनिल अधिकारी | काठमाडौँ | जनताको घर बनाउने आश्वासन र आशाको भुलभूलैयामा जनतालाई उल्लु बनाएर राजनीति गर्न खप्पिस बनेका नेतृत्वका कारण आजसम्म पनि हामी भूकम्प पीडितले राहत पाउन सकेका छैनौं । भूकम्प गएको एक बर्ष बित्दासम्म पनि कुन नीतिले जनताको घर बनाउने भन्ने बारे अन्यौल बनेको संयन्त्रले अझै कति बर्ष आशै-आशामा झुलाउने हो पत्तो छैन । भूकम्पको पिडामा छट्पटाउने पिडित जनतालाई यो ३६५ दिन निकै दर्दनाक बन्यो ।
यो देशमा प्रधानमन्त्रीले बोलेको कुरा पुरा गर्न सक्दैनन्, अनि अति संबेदनशील निकायले समेत बोलेको कुरा पुरा गर्न सक्दैन भने कसरी देशको समृद्धिको कल्पना गर्नु ? प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पको केन्द्र बारपाकमा गत पुषमा बोलेका थिए एक महिना भित्रै घर बनाउने पैसा सरकारले दिन्छ, यहाँबाट हामी पुनर्निर्माण अभियान थाल्छौं, ढुक्क हुनुहोस् भनेर भनेका थिए । तर त्यसपछि न उनी त्यहाँ गए नत कुनै भूकम्प प्याकेजको राहतनै पठाउन सके ।
देशकै प्रधानमन्त्रीबाट झुक्किने जनता अरुबाट के आशामा बस्नु ? यो प्रश्न भूकम्प पिडितको आफ्नै प्रश्न हो । महँगो भ्रमणको क्रममा हेलिकप्टर चढेर बारपाक पुगेका प्रधानमन्त्रीलाई सायद बारपाक घुम्ने र हेलिकप्टर चढ्ने शोक बाहेक अरु केहि पनि शंकल्प थिएन । नत्र भने आशाको तन्द्रामा किन अल्झाई राख्नु पिडित जनताहरुलाई । दु:खले टाउको उठाउन नसकेका जनतालाई एक महिना पछी भूकम्पको राहत दिने आशाको पोका बोकाएर फर्केका प्रधानमन्त्रीले आज ५ महिना बित्दा समेत त्यो आशाको पोकोमा केहि दिन सकेनन् । दिन नसक्नेले किन बोल्नु ? यसरी आश्वासनको पोको बोकाउने प्रधानमन्त्री मात्र हैन धेरै राजनीतिक पार्टीका महामहिमहरु छन् । ५ सेकेन्डको ताली खान जे मनमा आउँछ बोलिदिने तर पुरा गर्न आतुर नहुने परिपाटीका कारण अझै पनि जनता पिडित बनेका छन् ।
बारपाकलाई जसरी केन्द्रबिन्दु बनाएर भूकम्प गयो त्यसैगरि त्यहि ठाउँलाई केन्द्र बनाएर नेता तथा बिभिन्न एनजिओ-आइएनजिओहरुले आर्थिक तथा व्यक्तिगत हैसियत बनाए तर पिडितले आहिलेसम्म पनि राहत पाउन नसक्नु बिडम्बना हो । भूकम्प पिडितलाई भन्दै राहत उठाउनेले काठमाडौँमा घर उठाउँदा उता बास्तबिक पीडितका भूकम्पले थिचिएको टाउकोसम्म पनि उठाउन सकेका छैनन् । कतिपयले त सरकारलाई विश्वासनै गर्न छाडेर आफ्नै दु:खले घर बनाईसकेका छन् तर बनाउन नसक्नेहरुले भने अझै निर्दयी सरकार आउला र घर बनाइदेला भन्ने आशामा कष्टप्रद पालको जिन्दगि बिताईरहेका छन् ।
टहरामै एक बर्ष बिताउन बाध्य बनेका पिडितहरुलाई गाँस र बासले सताइरहन्छ, एक वर्ष बित्यो, अझै कति बर्ष यसरी बिताउनु पर्ने हो ? यो प्रश्नको जवाफ कसैसँग छैन । भूकम्पको वर्षदिन बितीसक्यो । संबिधान बनाउने नाममा ८ बर्ष जनतालाई झुलाए झैँ फेरी अर्को पटक अति संबेदनशील पिडामा परेका जनतालाई झुलाउने काम भइरहेका छन् । मिठा-मिठा आश्वासनमा झुलेका जनताहरु एक बर्षसम्म पनि केहि नभएपछी आशा मारेर आफै दु:ख गरेर चाहिने कुराको जोहो गर्दैछन् ।
यो ब्यथा बारपाकको हो । जहाँ भूकम्पले केन्द्रबिन्दु बनाएको थियो, जहाँ सबै घर ध्वस्त भएका थिए, कतिले परिवारनै गुमाएका थिए । अति पिडित बारपाकबासीले त नपाएको खुशी कुन भूकम्प पिडितले पाएका होलान् ? भूकम्पले अति प्रभावित बिभिन्न जिल्लाका कयौं पिडितहरुको पनि वारपाकको जस्तै दु:ख छ । टाठा-बाठाले उनै पिडितको नाममा आएको पैसाले ५ तले घर उभ्याईसकेको अवस्थामा पिडित जनताले टाउको सम्मपनि उठाउन नसक्ने कस्तो सरकारी संयन्त्र ? यो देशमा सरकारले बोलेको कुरा पुरा गर्न नसक्नुको कारण के ? घर बनाउन दुई लाख दिने भन्ने नीति लिन सक्ने, पैसा पनि छुट्याउने तर वितरण गर्न किन नसक्ने ? अबत पिडितहरुलाई सरकारले देला र घर बनाउला भन्ने आश पनि मरिसक्यो ।
चिसो भुइँमा त्रिपाल र जस्ता बारेर वर्ष दिन कट्यो, अब कति बर्ष त्यसरी बिताउनुपर्ने हो ? भूकम्पमा घाइते भएकाहरु अझैपनि ओच्छ्यानमै थलिएका छन् । अंगभंग भएकाहरु पनि चिन्तित छन् । सरकारले दुई लाख दिने भनेपनि त्यसको समान वितरण गर्दा कहाँ कस्तो प्रभाव पर्न सक्छ अध्ययन गर्न सकेको छैन । काठमाडौँमा दिने दुई लाखले जति काम गर्छ त्यो गाउँमा गर्न नसकिने पक्का छ । प्राय जिल्लाका बिकटसम्म सवारी साधनको प्रयाप्तता छैन नत सरकारले दिएको पैसाले भूकम्प प्रतिरोधी घरनै त्यहाँ त्यति थोरै पैसाले बनाउन सकिन्छ । ढुवानी खर्च महँगो पर्न जाँदा दुई लाख रुपैयाँले कस्तो घर बनाउने भन्नेमा चिन्ता छ । तर त्यो दुई लाख पनि नपुगेर फेरी चिन्ता छ ।
साझा सबल बाट साभार
हाम्रो यो news साइटको केही दिन परिक्षणको रुपमा सन्चालन भईरहेको छ त्यसैले यि समाचार र तस्बिरहरु बिभिन्न पत्रपत्रीका बाट साभार गरिएको हो ।







