स्थानीय निकाय पुनःसंरचना नेपाली जनताको माग होइन्ः अध्यक्ष ठाकुर
काठमाडौँ, २३ माघ । तराई– मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय निकाय पुनःसंरचना नेपाली जनताको मागै नभएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो– “स्थानीय निकायको पुनःसंरचना जनताको माग होइन, सङ्घीयतामा सङ्घ र प्रदेशमात्र हुन्छ, स्थानीय निकाय प्रदेश अन्तर्गतको कुरा हो, प्रदेशको संरचना नै नभएको बेला स्थानीय तहको निर्वाचनको के अर्थ रहन्छ ।”
स्थानीय तहको सरचना निर्माण जुन किसिमले बनाइएको छ, त्यसमा जनसङ्ख्या र भूगोलको आधार मिलेको छैन, पर्सादेखि सुनसरीसम्मका तराईका जिल्लाका जनताको राय सुझाव नै नलिई काठमाडाँैमा बसेर आयोगले पुनःसंरचना गरेको छ, आयोगबाट आफू खुसी गरिएकाले पनि विवाद उब्जेको हो, घोर विरोध भएको छ– अध्यक्ष ठाकुरले भन्नुभयो ।
उहाँले सरकारमा सामेल दलहरुबाटै पनि कसैले नयाँ, कसैले पुरानो संरचनाका आधारमा निर्वाचन गर्ने भन्नु तथा भूगोल र जनसङ्ख्याका आधारले यसरी मिलाइएको हो भनी स्पष्ट सङ्ख्या हालसम्म औपचारिकरुपमा नआउनुले पनि स्थानीय तहको पुनःसंरचना दोषरहित बन्न नसकेको उहाँको तर्क थियो ।
लोकतन्त्रका लागि आफूले जीवनभर सङ्घर्ष गरेकाले निर्वाचनको बारेमा आफूले विरोध गर्ने विषय नभएको बताउदै अध्यक्ष ठाकुरले संविधान सशोधन नभई गरिने कुनैपनि निर्वाचनमा संयुक्त लोकतान्त्रिक मोर्चाले भाग नलिने र त्यसको विरोध गर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले सरकारले जोरजवरस्ती रुपमा निर्वाचन गराउन खोजे त्यसले जटिलता निम्त्याउने बताउँदै संवैधानिक र राजनीतिक अधिकार प्राप्तिको विषयलाई पक्राउ र दमनका आधारमा सम्बोधन गर्ने प्रयत्नले समस्या समाधान गर्न सक्दैन भन्नुभयो ।
संविधान सशोधन र निर्वाचनजस्ता घरभित्रका समस्यालाई हामी आफँैले समाधान गर्नुपर्छ, अध्यक्ष ठाकुरले सरकारको हालसम्मको गतिविधिले आफ्ना मुद्दा सम्बोधन हुनेमा आशङ्का लागेको छ भन्नुभयो ।
दलहरुबीच सहमति भएको खण्डमा जुनसुकै तहको निर्वाचन गर्न सकिने उहाँको भनाइ थियो । रासस







