कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?
नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले नै सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमै पढ्ने भन्दै प्रधानमन्त्री बालेन शाहलाई प्रश्न गरेको छ।
आज प्रतिनिधि सभामा कांग्रेसका तर्फबाट बोलेका सांसद भीष्मराज आङ्देम्बेले भने, ‘नयाँ प्रधानमन्त्रीजिलाई म ध्यानाकर्षण गराउन चाहन्छु, जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमा पढ्ने? सरकारले सुझबुझपुर्ण ढंगले कानुन र प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गरोस् l कांग्रेस दोषी कोही उम्किनुहुन्न, निर्दोष कोही फस्नुहुन्न भन्ने मान्यता विगतदेखिनै बोक्दै आएको छ। यो मान्यतामा हामी आज पनि प्रष्ट र दृढ छौं।’
उनले संसद भवन र सिंहदरबार अब जल्न नहुने पनि बताए।
‘किन खरानी भयो संसद भवन? किन जल्यो सिंहदरबार? किन ध्वस्त बनाइए अनेकौं भौतिक संरचना? म सभामुख महोदय सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु- भदौ २३ र २४ दुवै दिनका घटनालाई एकएक केलाउन जरुरी छ। कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने। कसैले २४ को ध्वंस देख्ने, २३ को दमन नदेख्ने। यो प्रवृत्ति एकदम गलत छ। हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगले सम्म २३ गतेको घटनाको अनुसन्धान गर्यो, कार्वाहीको सिफारिस गर्यो। तर २४ को घटनाको अनुसन्धान गर्न भ्याइएन भन्यो। यो कस्तो तरिका हो? पटकपटक समय थप्ने, तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरुबाट नियतवश भएको होईन भनेर भन्न मिल्ने देखिन्न,’ उनले भने।
उनले संविधान विपरीत काम भए खबरदारी गर्ने बताए।
‘किन बितेको ७५ बर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ बर्ष शासन गर्न सकेनन्? म शोध्धिन आजका नयाँ प्रधानमन्त्रीको नियतिमा के लेखिएको छ? बरु म पूरा कार्यकालका लागि उहाँलाई शुभकामना दिन चाहन्छु। तपाईंलाई देशका लागि राम्रो गर्न हाम्रो प्रष्ट साथ रहनेछ। तर संविधान विपरीत कुनै कर्म भए, नागरिकले गरेको अपेक्षा विपरीत कार्य भए, हामी खबरदारी गरेर अघिल्तिर उभिनेछौं,’ उनले भने।







