नेपाल टेलिभिजनको युट्युब च्यानल पुन: सुचारु
नेपाल टेलिभिजनको आठ लाख आठ हजार भन्दा बढी सब्सक्राइबर भएको आधिकारिक युट्युव च्यानल पुन: सुचारु भएको छ ।
नेपाल टेलिभिजनको युट्युब च्यानलमा अपलोड गरिएको अन्तर्राष्ट्रिय कुनै एक सामाग्रीलाई लिएर कतारको अल जजिरा टेलिभिजनले कपिराइट दावी गरेसँगै यो च्यानल बिगत ५ महिनादेखि बन्द भएको थियो ।
नेपाल टेलिभिजनले नेपालस्थित कतारको राजदूतावासबाट पहल गरेसँगै यो च्यानल पुन: फिर्ता भएको हो ।
अब नेपाल टेलिभिजनका चार वटै युट्युव च्यानल क्रमशः सञ्चालनमा आएका छन ।
कोहलपुर प्रसारण केन्द्रबाट नेपाल टेलिभिजनको युट्युब च्यानलमा अल जजिराको भिडियो अञ्जानमा अपलोड भएको थियो ।
सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टलगायतको नेपाल टेलिभिजनको डिजिटल प्लाटफर्म टीमले कतारका राजदूतसँग सम्पर्क गरेर वास्तविकता बुझाएपछि च्यानल फिर्ता भएको हो ।
कपिराइट सम्बन्धी सम्पूर्ण प्रावधान र कानूनी मान्यताहरुका बारेमा जानकार हुँदाहुँदै पनि अचानक यस्तो अवस्था आएको र यसबाट शिक्षा लिँदै अब थप सावधानी अपनाएर भिडियो अपलोड गरिने सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनुभयो ।







