चिनियाँ रक्षामन्त्री आए, फर्किए
चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आएर उसै दिन फर्किएका छन् । उनलाई त्रिभुवन विमानस्थलमा गृहमन्त्री रामबहादुर थापाले स्वागत गरे ।
यसअघि विदेशी पाहुनासँग हात मिलाएर स्वागत गर्ने प्रचलन रहे पनि आइतबार भने गृहमन्त्री थापा र चिनियाँ रक्षामन्त्री फेङ्हेले कुहिनो जोडेर शिष्टाचार आदानप्रदान गरे । कोरोना हामारीका कारण हात मिलाउनुको सट्टा कुहिना ठोकाउने प्रचलन छ ।
रक्षामन्त्री वेइलाई गृहमन्त्री थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायतले स्वागत गरेका थिए ।
चिनियाँ विशिष्ट पाहुना २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौं अवतरण गरेका थिए । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन् ।
त्रिभुवन विमानस्थलमा संक्षिप्त मन्तव्य दिँदै चिनियाँ रक्षामन्त्री फेङ्हेले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउन आफ्नो भ्रमणको उद्देश्य भएको बताए ।
चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै यसलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यका साथ आफू नेपाल आएको उनको भनाइ थियो ।
सैन्य तालिम सुचारु गर्न सहमत
कोरोना जोखिमका कारण प्रभावित नेपाली सेनाको तालिम तथा शिक्षार्थी आदानप्रदान सुचारु गर्न चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्हे सहमत भएका छन् । आइतबार जंगी अड्डामा फेङ्हे नेतृत्वको प्रतिनिधिमण्डल नेपाली सेनासँगको छलफलमा उनले सो सहमति जनाएका हुन् ।
चिनियाँ रक्षामन्त्री र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी सामूहिक छलफलमा उक्त सहमति भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपालको औपचारिक भ्रमणका क्रममा फेङ्हेले प्रधानसेनापति थापासँग जंगी अड्डामा शिष्टाचार भेट गरे । पूर्वघोषित नेपाली सेनाको विपद व्यवस्थापन क्षमता अभिवृद्धिका लागि चिनियाँ सरकारले २ अर्ब ४० करोड नेपाली रुपैयाँ पनि छिट्टै उपलब्ध गराउने फेङ्हेले प्रतिबद्धता जनाएका छन् ।







