महिला भलिबलमा नेपालको ऐतिहासिक जित, भारत पराजित
काठमाडौं–काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गराएको हो। महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो।
प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५–१८ ले जित्यो। खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमा पा¥यो। तेस्रो सेट नेपालले जित्यो। नेपालले भारतलाई २५–१७ ले पाखा लगाएको हो। तर, चौथो सेट १८–२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५–१३ ले पराजित ग¥यो।
च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता थियो। शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन्। उक्त प्रतियोगिताअन्तर्गत आज दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्स भिड्नेछन् भने सवा ५ बजे हुने दोस्रो खेलमा नेपालले इरानसँग खेल्नेछ।
दुवै खेल राखेप कभर्डहलमा हुनेछन्।
जारी प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। नेपालले श्रीलंकामाथि २५–१९, २५–१८, र २५–१९ ले पराजित गरेको थियो।
पहिलो खेलमा श्रीलंकामाथि ३–० को सहज जित निकालेको नेपालले शनिबार ऐतिहासिक जित निकाल्न सफल भयो। नेपालले भारतलाई पहिलो पटक हराउने क्रममा ३–२ को सेटमा खेल जित्यो। साग गेम्सको सर्वाधिक सफल टोली भारतमाथि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको ३७ वर्षपछि जित निकालेको हो।