दक्षिण कोरियाका बाढी-पहिरो: अन्डरपासबाट निकालियो ७ जनाको शव
दक्षिण कोरियामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३३ जना मानिसको मृत्यु भएको छ।समाचार संस्था एएफपीका अनुसार देशका विभिन्न ठाउँमा आएको बाढी-पहिरोले जनजीवन प्रभावित भएको छ।
दक्षिण कोरियाको मध्य भागमा पर्ने छेओङ्जुमा एउटा अन्डरपासबाट आइतबार बिहान ७ जना मानिसको शव निकालिएको छ। अन्डरपासमा पानी भरिएपछि त्यहाँ एउटा बससहित १५ वटा जति सवारी साधन डुबेका छन्।अन्डरपासमा अरू धेरै मानिसहरू फसेको हुनसक्ने अधिकारीहरूले बताएका छन्। उनीहरूको खोजी र उद्धारको प्रयास भइरहेको छ।
दक्षिण कोरियाको आन्तरिक मामिला मन्त्रालयले १० जना मानिस बेपत्ता भएको र अहिलेसम्म झन्डै ८ हजार मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको बताएको छ।
भारी वर्षाका कारण दक्षिण कोरियाको रेल सेवा पनि प्रभावित भएको छ।मनसुनका कारण दक्षिण कोरियामा विगत चारदेखि भारी वर्षा भइरहेको जनाइएको छ।एजेन्सी







