७० वर्ष बेलायतको शासन सम्हालेकी महारानीको निधन
बेलायतको इतिहासमा सबैभन्दा लामो समय ७० वर्ष शासन गरेकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा निधन भएको हो
काठमाडौं–बेलायतकी महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार बोलमोरलमा निधन भएको छ।
बकिंगम दरबारले बिहीबार अबेर जारी गरेको सूचनामा भनिएको छ, ‘महारानी एलिजावेथको बोलमोरलमा निधन भएको छ।’
बेलायतको इतिहासमा उनी सबैभन्दा लामो समय शासन गरेकी महारानी हुन् । उनले ७० वर्ष बेलायतको राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् ।
बिहीबार नै स्कटिस इस्टेलमा जम्मा भएर बेलायतीले स्वास्थ्यवस्थाको जानकारी लिएका थिए ।सन् १९५२ मा उनी बेलायतको राजगद्दीमा पुगेकी थिइन् । गद्दीबाटै बेलायतको इतिहासमा थुप्रै परिवर्तनको साक्षी भइन् ।
अब उनका छोरा चाल्र्स बेलायतको नयाँ राजा बन्नेछन् ।सन् १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्न सिंहासन त्याग्ने निर्णय लिएपछि १० वर्षकी उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो ।
उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिलेपछि जेठी छोरी एलिजावेथ उत्तराधिकारी बनेकी थिइन् । पिताको निधनपछि सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा उनले राजगद्दी आरोहण गरेकी थिइन् ।दोस्रो विश्वयुद्धपछि बेलायत आर्थिक तथा राजनीतिक रूपमा तंग्रिने प्रयास गरिरहेका बेला एलिजावेथले गद्दी सम्हालेकी थिइन् । करिब १२० देशको भ्रमण गरेकी एलिजावेथले संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्षको कीर्तिमान बनाएकी छन् ।
१६ लाख किलोमिटरभन्दा बढी यात्रा गरेकी उनी हजारौं समारोहमा सहभागी भएकी थिइन् । उनी संसारमै सबैभन्दा धेरै फोटो खिचाउने व्यक्तिमध्येमा पर्छिन् ।
महारानीले स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारी यसअघि नै जेठा छोरा तथा उत्तराधिकारी युवराज चाल्र्सलाई हस्तान्तरण गरेकी छन् । उनले युवराज चाल्र्स राजा बनेपछि पत्नी क्यामिला रानी बन्ने यसअघि नै प्रस्ट पारेकी थिइन् ।
राजकुमार विलियम र ह्यारीकी आमा डायनाको सन् १९९७ अगस्तमा फ्रान्सको राजधानी पेरिसमा भएको कार दुर्घटनामा मृत्यु भएको थियो । पछि सन् २००५ मा चाल्र्सले क्यामिला पार्कर बाउल्ससँग विवाह गरेका हुन् ।
तीन वर्षअघि राजकुमार ह्यारी र मेगनले दरबार छाड्ने निधो गर्दा महारानीले दुःख व्यक्त गरेकी थिइन् । पछि सन् २०२१ को जुनमा पति गुमाएपछि भने उनलाई ‘एक्लोपन’ ले अत्याएको थियो । त्यसको ६ महिनापछि यौन दुव्र्यवहारको आरोपमा छोरा एन्ड्रयुको शाही पदवी खोसिएको थियो ।







