भिजिट भिसामा खाडी मुलुक जान लागेका विमानस्थलबाटै फर्काइए
बुधबारदेखि शनिबारसम्म चलाएको अपरेसनका क्रममा उनीहरूलाई विमानस्थलबाट फर्काइएको कार्यालयले बताएको हो
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नक्कली कागजातका आधारमा भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ ।बुधबारदेखि शनिबारसम्म चलाएको अपरेसनका क्रममा उनीहरूलाई विमानस्थलबाट फर्काइएको कार्यालयले बताएको हो ।
कार्यालयका प्रमुख डीआईजी श्यामलाल ज्ञवालीका अनुसार विभिन्न एयरलाइन्समार्फत भिजिट भिसामा जान लागेका व्यक्तिलाई शंका लागेपछि सोधपुछ गरिएकोे थियो ।
उनीहरूमाथि विस्तृत अनुसन्धान आवश्यक देखिएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहल बुझाइएको ज्ञवालीले बताए ।
उनीहरूलाई विमानस्थलको प्रस्थान क्षेत्रमा चेकजाँच गर्दा हवाई अनुमतिका लागि आवश्यक कागजात शंकास्पद देखिएको थियो । विमानस्थलबाट फर्काइएकामध्ये १०३ महिला र ९४ पुरुष छन् ।
भिजिट भिसामा खाडी मुलुक गएका नागरिक अलपत्र पर्न थालेपछि गृह मन्त्रालयका सह–सचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा कार्यदल बनाएर जाँचबुझ थालिएको थियो । कार्यदलको सिफारिसअनुसार भिजिट भिसासम्बन्धी मापदण्डलाई कडाइ गर्दै भिजिट भिसामा पठाउन सक्रिय व्यक्ति तथा संस्थाको गतिविधिलाई निगरानीमा राख्नुपर्ने निष्कर्ष निकालेको थियो ।
विदेशमा आफन्तले बोलाउँदा वा भिजिट भिसा प्रयोजनमा भेट्न जाने विषयलाई श्रीमान्, श्रीमती, बाबुआमा, दाजुभाइ, सासू–ससुरा र छोराछोरीमा मात्र सीमित गरिएको छ । नागरिकताबाट नाता खुल्नेको हकमा प्रमाणीकरण आवश्यक नपर्ने उल्लेख छ ।
नाता प्रमाणित आवश्यक पर्ने हकमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित भएको र त्यसको प्रति सम्बन्धित स्थानीय तहले अध्यागमन कार्यालयबाट हेर्न सक्ने गरी सूचना प्रणालीमा अपलोड गरिएको हुनुपर्छ । तर यस्ता कागजात नै कीर्ते गरेर भिजिट भिसामा पठाइँदै आएको छ ।