देउवाद्वारा डा केसीका माग पूरा गर्न ध्यानाकर्षण
नेपाली कांग्रेसका सभापति तथा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् ।
केसीले अनशन थालेको २१ दिन पुगेको छ । लामो अनसनका कारण केसीको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगरेको स्थिति अत्यन्तै दुःखद र गम्भीर रहेको देउवाले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदम समेतका उहाँका माग केवल एक व्यक्तिका माग होइनन्, प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यबद्धता जनाएका माग हुन् ।
जनभावनाअनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो । तर, सरकारले सुरुआतमा डा. केसीप्रति दुव्र्यवहारपूर्ण व्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासीन व्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिस्टतन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको छ’, उनको विज्ञप्तिमा भनिएको छ ।
चिकित्सा शिक्षा क्षेत्रमा विकृति बढेपछि सुधारका लागि तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले डा. केदारभक्त माथेमाको नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको स्मरण गराउँदै देउवाले कार्यदलको सुझावबमोजिम सुधार गर्न अनुरोध गरेका छन् ।
डा. केसीका माग पूरा गर्नैका लागि आफू प्रधानमन्त्री हुँदा राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश ०७४ जारी भए पनि वर्तमान सरकारले त्यसलाई विस्थापित गरेको देउवाले बताएका छन् ।
सरकारलाई चिकित्सक संघको चेतावनी
नेपाल चिकित्सक संघले अनसनरत डा. गोविन्द केसीको स्थितिप्रति बेवास्ता गरेकामा सरकारको ध्यानकर्षण गराएको छ ।
संघले विज्ञप्ति जारी गरी डा.केसीको १९ औं आमरण अनसन सम्बन्धमा संघका तर्फबाट सरकारको ध्यानाकर्षण गराइए पनि २१ दिन पुगिसक्दा पनि सरकारले वार्ता टोली गठन नगरेको भन्दै गम्भरी ध्यानकर्षण भएको जनाएको हो ।
संघका महासचिव डा.बद्री रिजालद्वारा जारी विज्ञप्तिमा, डा. केसीको जीवनरक्षाका लागि हुन सक्ने विरोधका कार्यक्रमलाई दृष्टिगत गरी सरकारले यथाशीघ्र वार्ता टोली गठन गरी सौहाद्रपूर्ण वातावरणमा वार्ता र संवादको माध्यमबाट उत्पन्न समस्याको समाधान गर्न आग्रह गरिएको छ ।
संघले ७२ घन्टाभित्र वार्ता टोली गठन गरी डा. केसीको जीवनरक्षाका लागि कुनै पहल अघि नबढाइए जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने चेतावनी सरकारलाई दिएको छ ।
जुम्लाबाट काठमाडौं आएका डा. केसी केही दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत रहेका छन् ।







