राष्ट्रसंघ जनसंख्या कोषको उच्चस्तरीय आयोगमा राणा मनोनीत
महिला अधिकारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसंघ जनसंख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकी छन् । राष्ट्रसंघीय महिलाविरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहेकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनीत भएकी हुन् ।
राष्ट्रिय महिला आयोगको पूर्वअध्यक्षसमेत रहेकी राणा सञ्चारकर्मीसमेत हुन् । जनसंख्या र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन (आइसीपीडी) को २५ वर्ष पुगेको अवसरमा गत वर्ष भएको नैरोबी सम्मेलनमा तय गरिएका एजेन्डा पूरा गर्न उक्त आयोग गठन गरिएको थियो ।
उच्चस्तरीय आयोगमा २८ सदस्य छन् भने अध्यक्षता तान्जानियाका पूर्वराष्ट्रपति जाकाया किक्वेते र क्यानडाका २७ औं गभर्नर जनरल मिसेल जिनले गर्ने छिन् । आयोगमा विभिन्न देशका पूर्वप्रमुखदेखि अभियानकर्मी र युवासमेत सदस्यको रूपमा रहेका छन् ।
कोरोना महामारीको समय महिलाहरू परिवार नियोजन, गर्भवती स्याहारजस्ता आधारभूत सेवाबाट वञ्चित हुनु परेको अवस्थामा सम्मेलनले दिशा निर्देश गरेका काम अगाडि बढाउने उद्देश्यले अधिकारकर्मी र विशेषज्ञ सम्मिलित उच्चस्तरीय आयोग गठन भएको हो ।







