२ हजारमै पिसिआर परीक्षण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षण शुल्क २ हजार रुपैयाँ तोेकेको छ ।
आइतबारको प्रेस सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब सबै प्रयोगशालालाई पिसिआर परीक्षणको अधिकतम शुल्क २ हजार तोकिएको जानकारी दिए ।
सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला सबैले घटेको शुल्कमा पिसिआर परीक्षण गराउनुपर्नेछ । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पिसिआर परीक्षणको शुल्क पुनरावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटेको बताए । बजारमा रिएजेन्ट र पिसिआरका अन्य सामानको मूल्य घटेको आधारमा परीक्षण शुल्क पनि घटाइएको उनले जानकारी दिए ।
यसअघि मन्त्रालयले पिसिआर परीक्षणका लागि ४ हजार ४ सय रुपैयाँ तोकेको थियो ।
त्यसाअघि पिसिआर परीक्षणका लागि मन्त्रालयले साढे ५ हजार रुपैयाँ शुल्क तोकेको थियो । नेपालमा अहिलेसम्म ८ लाख ४० हजार ५ सय २७ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यसमध्ये ५४ हजार १ सय ५९ जना संक्रमित भएका छन् ।
दैनिक करिब १० हजार संख्यामा पिसिआर परीक्षण मन्त्रालयले जनाएको छ ।
सरकारले सर्वसाधारण सबैलाई निःशुल्क परीक्षण गर्दै आइरहेको छ भने सशुल्क परीक्षण गराउन इच्छुक व्यक्तिले मन्त्रालयले तोकेको अस्पताल वा प्रयोगशालामा गई परीक्षण गराउन सक्ने व्यवस्था गरेको छ ।
अहिले ४७ सरकारी प्रयोगशालामा पिसिआर परीक्षण हुँदै आइरहेको छ ।







