रहेनन् भारतका पूर्वराष्ट्रपति मुखर्जी
एजेन्सी
नयाँदिल्ली भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । कोरोना संक्रमणपछि उपचाररत ८४ वर्षीय मुखर्जी केही दिनदेखि कोमामा थिए । गत अगस्त १० मा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् ।
‘भारी मनका साथ जानकारी गराउँदै छु, आरआर अस्पतालका डाक्टरको सक्दो प्रयास र भारतीयको प्रार्थनाका बाबजुद बुबा प्रणव मुखर्जी अहिले भर्खरै बित्नुभएको छ,’ अभिजितले ट्वीटमा लेखेका छन् ।
भारत रत्नबाट विभूषित मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बनेका थिए । मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए ।
प्रधानमन्त्री ओलीको समवेदना
प्रधानमन्त्री केपी ओलीले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दुःख व्यक्त गरेका छन् । मुखर्जीको निधनपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै दुःख व्यक्त गरेका हुन् ।
ओलीले लेखेका छन्, ‘भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी बितेको समाचारले मलाई दुःखी बनाएको छ । सरकार र भारतीय नागरिक तथा शोकसन्तप्त परिवारका सदस्यहरूप्रति हार्दिक संवेदना प्रकट गर्न चाहन्छु ।’
उनले नेपालका एक साथी गुमाएको समेत बताएका छन् । ‘उनको निधनमा नेपालले एक महान् साथी गुमाएको छ । हामीले उनको सार्वजनिक जीवनको विभिन्न क्षमतामा नेपाल र भारतको सम्बन्धलाई सुदृढ बनाएको योगदान सम्झिन्छौं,’ ओलीले अर्को ट्वीटमा लेखेका थिए ।







