घट्यो कोरोना परीक्षणको शुल्क
स्वास्थ्य मन्त्रालयले पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा लाग्ने शुल्क केही घटाएको छ । यसअघि ५ हजारदेखि ७ हजार ५ सयसम्म लाग्ने गरेकामा सर्वसाधारणको विरोधपछि सरकारले परीक्षण शुल्क घटाएको हो ।
आइतबार बसेको नियमित बैठकले सेवाशुल्कसहित अधिकतम ४ हजार ४ सय रुपैयाँ तोकेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
मन्त्रालयको निर्णयमा भनिएको छ, ‘सःशुल्क रुपमा कोरोना परीक्षण गर्ने सबै प्रयोगशालाहरुले कोभिड–१९ को पीसीआर परीक्षणबापत सेवा शुल्कसहित अधिकतम ४ हजार ४ सय रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने ।’
यसअघि सरकारले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो भने आफ्नै ल्याब नभएका अस्पतालले स्वाब संकलन गरेको हकमा अतिरिक्त १० प्रतिशत लिन पाउने छुटसमेत दिएको थियो । नयाँ निर्णयअनुसार आफ्नै ल्याब भएका अस्पतालले पहिलेको तुलनामा ११ सय रुपैयाँ कममा गर्नुपर्नेछ भने आफ्नो ल्याब नहुनेले पनि ४ हजार ४ सय रुपैयाँभन्दा बढी लिन पाउने छैनन् ।
अब उनीहरुले ल्याव छैन भनी सरकारले तोकेको दरभन्दा १० प्रतिशत थप पनि लिन पाइने छैन ।
यसअघि केही अस्पतालले सरकारले तोकेभन्दा पनि बढी शुल्क लिएको पाइएको थियो । ग्रान्डी र क्यान्सर अस्पतालले ७ हजार ५ सय रुपैयाँ लिने गरेका थिए । तोकेभन्दा बढी शुल्क लिने अस्पताललाई के कारबाही गर्ने भन्ने विषयमा भने छलफल नभएको मन्त्रालय स्रोतले जनाएको छ ।







