कोरोना संक्रमण नियन्त्रणका नाममा १३ अर्बभन्दा बढी खर्च
काठमाडौं
सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि अहिलेसम्म १३ अर्बभन्दा बढी रुपैयाँ खर्च गरे पनि नतिजा शून्य देखिएको छ । तर संक्रमण नियन्त्रणका लागि गरिएको खर्चको तथ्यांक ठूलो रहे पनि त्यसअनुरुप सफलता हासिल नभएको देखिएको हो ।
कोरोना संक्रमण नियन्त्रणमा ०७६ चैतदेखि ०७७ साउन मसान्तसम्म १३ अर्ब ३६ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम खर्च भएको सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चामन्त्री युवराज खतिवडाले जानकारी दिए ।
उक्त रकम औषधी र स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन एवं क्वारेन्टाइन र अन्य क्षेत्रमा खर्च भएको मन्त्री खतिवडाले बताए ।
मन्त्री खतिवडाका अनुसार संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ । उक्त रकममध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब १७ करोड र रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड खर्च गरेका छन् ।
यसैगरी गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्रबाट ६ लाख, पर्यटनबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ ।
कोभिड कोषबाट त्यस अतिरिक्त १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको मन्त्री खतिवडाले जानकारी दिए ।
त्यसैगरी प्रदेश सरकारहरूबाट १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । प्रदेश १ मा २० करोड ७१ लाख, प्रदेश २ मा १७ करोड २ लाख, बागमती प्रदेशले १३ करोड ६७ लाख, गण्डकी प्रदेशले १४ करोड ५४ लाख, प्रदेश ५ ले १० करोड ५९ लाख, कर्णाली प्रदेशले २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशले ४२ करोड ४८ लाख रुपैयाँ खर्च गरेका छन् ।
यस्तै, स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको प्रवक्ता खतिवडाले बताए ।







