बैद्य र चन्द जलविद्युतमा भारतीय लगानीको विरोधमा
१६ पुस, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य र नेकपा माओवादीका नेत्रविक्रम चन्द भारतीय लगानीमा सञ्चालित जलविद्युत आयोजनाको चर्को विरोधका लागि एउटै मञ्चमा देखिएका छन् ।
विप्लव डेढ वर्ष अघि बैद्य माओवादीबाट छुटि्टएका थिए । त्यसपछि दुई नेता एउटै मञ्चमा देखिएको सम्भवत यो पहिलो हो । शनिवार काठमाडौमा आयोजित अन्तरक्रिया कार्यक्रममा बैद्य र विप्लवसँगै थिए ।
क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले विदेशी लगानीमा बनाइएको जलविद्युत परियोजना खारेज गर्न सशक्त आन्दोलनमा जाने चेतावनी दिए ।
साथै उनले नेपालको आन्तरिक मामलामा भारतीय हस्तक्षेप निम्त्याउन सत्तारुढ दलहरु लागि परेको भन्दै आक्रोश व्यक्त गरे ।
नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्दले नेपाली जनताको हित विरुद्ध संचालनमा आएको जलविद्युत परियोजना बन्द गराउने बताए । भारतले अपर कणार्लीजस्ता आयोजनाको प्रतिफल नेपाली जनतालाई नदिन षड्यन्त्र गरिरहेको उनको दाबी छ ।
भारतले नेपालको नदीनालामा आँखा गाडीरहेको भन्दै चन्दले त्यसविरुद्ध लडाई लडन सबैलाई आहृवान पनि गरेका छन् । कार्यक्रममा जलविद्युत विज्ञहरुले सत्तामोहमा कारण दलहरुले जनचाहना विपरित जलविद्युत आयोजना निर्माण गरेको आरोप लगाएका छन् ।







