चिरख्वा हाइड्रोपावरको आइपिओ खुल्यो
काठमाडौं–सर्वसाधारणका लागि चिरख्वा हाइड्रोपावर लिमिटेडले आज (मंगलबार) देखि आइपिओ बिक्री खुला गरेको छ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।
कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाहरूका लागि ४ लाख कित्ता निष्कासन गरेको थियो। जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँट भएको कम्पनीको भनाइ छ।
त्यसैगरी, पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ८० हजार कित्ता, कर्मचारीहरूका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरूका लागि ४० हजार कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ।आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
उक्त आइपिओमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि कात्तिक ३ गतेसम्म लम्बिनेछ।