नेपाल टी-२० लिगमा स्पट फिक्सिङ आरोपमा दुई क्रिकेटर पक्राउ
प्रहरीको निष्कर्ष : स्पट फिक्सिङमा ४ नेपालीसहित १० जना संलग्न
नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले दुई जना क्रिकेटरलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा आदिल अन्सारी र मेहबुब आलम रहेको सिआइबी स्रोतले जनाएको छ।
सुरूदेखि नै विवादमा परेको लिगमा स्पट फिक्सिङ भएको भन्ने उजुरीपछि सिआइबीले अनुसन्धान गरिरहेको थियो।आदिलले टी-२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए। तर मेहबुब भने लिगमा कुनै पनि टिममा आबद्ध थिएनन्।
उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ ।
पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले जनकपुर रोयल्सबाट नेपाल टी–२० लिग खेलेका थिए ।