२० प्रतिशतले बढ्यो रेमिट्यान्स
गत वर्षको साउनमा १ खर्ब ५६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकामा यो वर्षको साउनमा १ खर्ब ८७ अर्ब भित्रिएको हो।
काठमाडौं– चालू आर्थिक वर्षको दोस्रो महिना साउनमा मुलुकभित्र रेमिट्यान्स भित्रिने दरमा १९.८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले प्रकाशित गरेको विवरणमा उल्लेख छ ।गत वर्षको यही अवधिमा १ खर्ब ५६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकामा साउनमा १ खर्ब ८७ अर्ब भित्रिएको हो ।
मासिक रूपमा भित्रिने रेमिट्यान्समा पनि वृद्धि देखिएको छ । असारमा ९२ अर्ब २० करोड रेमिट्यान्स भित्रिएकामा साउनमा ९४ अर्ब ८३ करोड भित्रिएको हो ।
विदेशी मुद्रामा दबाब परेसँगै सरकार र राष्ट्र बैंकले लिएको नीतिले मुलुकको आयातमा पनि कटौती भएको छ ।आयात २ खर्ब ७३ अर्ब रुपैयाँमा सीमित भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा १३ प्रतिशतले कम हो ।गत वर्षको यही अवधिमा ३ खर्ब १४ अर्बको वस्तु तथा सेवा आयात भएको थियो । गत असारको तुलनामा साउनमा भने आयात ११ अर्बले बढेर एक खर्ब ४२ अर्ब रूपैयाँ पुगेको छ ।
मुलुकले गर्ने निर्यातमा पनि गत वर्षभन्दा करिब ३५ प्रतिशतले घटेर २८ अर्ब ६८ करोडमा सीमित भएको छ ।आयात घटेसँगै मुलुकको चालू खाता घाटामा कमी आइरहेको छ । गत वर्षको पहिलो दुई महिनामा रहेको १ खर्ब ६ अर्बबाट घटेर ३७ अर्ब रुपैयाँमा सीमित भएको छ ।
रेमिट्यान्स बढे पनि मासिक आयात केही बढेको र प्रत्यक्ष वैदेशिक लगानी घटेको, विदेशमा लाभांशको रूपमा फर्किएको लगानी बढेका कारण मुलुकको विदेशी मुद्रा सञ्चिति थप ७ करोडले घटेको छ ।
गत असारमा ९ अर्ब ४२ करोड कुल विदेशी मुद्रा सञ्चिति रहेकामा यो साउनमा ९ अर्ब ३५ करोडमा सीमित भएको छ ।मुलुकको यस्तो सञ्चितिले ७.७ महिनाको वस्तु तथा आयात मात्र धान्न सक्ने अवस्था छ ।यो अवधिमा मुलुकमा ९९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिँदा १ अर्ब ८० करोड रुपैयाँ फर्किएको छ । मुलुक भित्रने र बाहिरीने रकम देखाउने शोधानान्तर असारको तुलनामा थप १ अर्ब ५ करोडले ऋणात्मक भएर २३ अर्ब ६८ करोड पुगेको छ ।