तीन महिनामा संकलन भयो २ खर्ब ८ अर्ब राजस्व
चालू आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा उक्त रकमको राजस्व संकलन भएको महालेखा परीक्षकको तथ्यांक
काठमाडौं– चालू आर्थिक वर्ष २०७९÷८० को पहिलो तीन महिनामा २ खर्ब ८ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार चालू आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा उक्त रकमको राजस्व संकलन भएको हो ।
यो कुल राजस्व संकलन लक्ष्यको १४.८७ प्रतिशत हो । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । यस्तै, कर राजस्वतर्फ १ खर्ब ८९ अर्ब ३८ करोड संकलन भएको छ ।
सरकारले चालूु आर्थिक वर्षमा कर राजस्वतर्फ १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख संकलन गर्ने लक्ष्य राखेकामा हालसम्म १४.६२ प्रतिशत रकम संकलन भएको छ ।गैरकर राजस्वतर्फ १९ अर्ब २० करोड ३५ लाख संकलन भएको महालेखायले जनाएको छ ।
महालेखाका अनुसार सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २ खर्ब ७८ अर्ब १६ करोड ६३ लाख खर्च गरेको छ । यसमध्ये चालूतर्फ २ खर्ब २३ अर्ब ७५ करोड २७ लाख खर्च गरेको हो ।
विकास खर्च १९ अर्ब ६८ करोड ११ लाख भएको छ । वित्तीय विनियोजनतर्फ ३४ अर्ब ७३ करोड २५ लाख खर्च भएको छ ।