
त्रिभुवन विमानस्थलले घटायो सञ्चालन अवधि, चैत १५ बाट दैनिक १८ घण्टा मात्र खुल्ने
काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घटाएको छ । यसका लागि अग्रिम मिति समेत तय भएको छ ।
आगामी १५ चैत (मार्च २८)बाट विमानस्थलको सञ्चालन अवधि दैनिक १८ घण्टा मात्र हुनेछ । अहिले विमानस्थल दैनिक २१ घण्टा चलिरहेको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताएका छन् ।
तर, उडान(अवतरणमा अपेक्षित चाप नभएपछि उडान अवधि घटाउन लागिएको उनले जानकारी दिए । कोरोना भाइरसको महामारीपछि खुलेको हवाई उडानमा अहिले आन्तरिक उडान सन्तोषजनक रहेको छ ।
अन्तर्राष्ट्रिय उडानमा भने अपेक्षित वृद्धि हुन सकेको छैन । पर्यटक आगमनमा सरकारले राखेका विभिन्न प्रतिवन्धका कारण पर्यटक आगमन नबढेको हो । प्रवक्ता कर्णका अनुसार विमानस्थल भने अब रातको साढे १२ बजे बन्द हुनेछ । बिहान साढे ६ बजे मात्र खुल्नेछ ।
यसबीचमा रातको समयमा उडान(अवतरण गरिरहेका कम्पनीले स्लट व्यवस्थापन गरी समय सार्न सकुन भन्ने उद्देश्यले अग्रिम मिति तय गरी विमानस्थल सञ्चालनको समय तोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानाएको छ । अहिले नेपाल वायुसेवा निगमले रातको १ बजे जापानको नारितामा उडान गर्छ ।