
महँगो प्रतिबन्धित लागूऔषधको कारोबार सेटिङ जेलबाटै
काठमाडौँ : केन्द्रीय कारागारमा रहेका एक भारतीय नागरिकले जेलबाटै प्रतिबन्धित लागूऔषध एम्फेटामाइन (आइस ड्रग) कारोबारको सेटिङ मिलाउने गरेको खुलेको छ । पुर्पक्षका क्रममा रहेका भारतीय नागरिक शेखशमशेर आलमले गोरखाको अजिरकोट–२ घर भई काठमाडौं बस्दै आएका ३८ वर्षीय चिजकुमार गुरुङमार्फत नेपालबाट युरोपमा आइस ड्रग पठाउने गरेको तथ्य खुलेको हो ।
गैरकानुनी बाटो हुँदै अफगानिस्तान, इरान, इराकलगायत एसियाका द्वन्द्वग्रस्त मुलुक जान भरपुर प्रयास गरेर पनि असफल भएका चिजकुमारलाई रेणु सारूमगरले आलमसँग भेट गराइदिएकी थिइन् । ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतको आदेशमा आलम मंसिर २८ देखि पुर्पक्षका क्रममा केन्द्रीय कारागारमा छन् भने ठगी अभियोगमै ३ लाख धरौटी बुझाउन नसकेपछि रेणु पनि केन्द्रीय कारागारमै छिन् ।
रेणुले विदेश पठाइदिने भन्दै चिजकुमारसँग रकम असुलेकी थिइन् । आफूले दिएको पैसा फिर्ता दिन वा विदेश पठाउन चिजकुमारले उनलाई दबाब दिइरहेका थिए । चिजकुमारबाट लिएको रकम रेणुले भारतीय नागरिक आलमलाई दिएको बताएकी छन् । पैसा फिर्ता गर्नुको सट्टा रेणु र आलमले चिजकुमारलाई आइस ड्रग कारोबारबाट पैसा कमाउने जुक्ति सुझाए र त्यसमा आफू लाग्ने योजना सुनाए । आलमले अन्तर्राष्ट्रिय कारोबारीसँग सेटिङ मिलाउने, रेणु र चिजकुमारले एक ठाउँबाट अर्को ठाउँमा ओसारपसारमा सघाउने, पार्सल गर्ने वा गन्तव्य मुलुकबाट आएका गिरोहसम्म आइस ड्रग पुर्याइदिनेसम्मका योजना बुनेका थिए ।
चिजकुमारले भने आलमकै योजनामा काम गर्न थाले । यसको सुइँको पाएपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा चिजकुमार गएको माघ २५ गते २ सय २२ ग्राम आइस ड्रगसहित टोखाबाट पक्राउ परे । आइस ड्रग महँगो प्रतिबन्धित लागूऔषध हो ।
लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी दिलीपकुमार चौधरीका अनुसार अन्तर्राष्ट्रिय बजारमा गिरोहले आइस ड्रग प्रतिग्राम ८० देखि १ सय अमेरिकी डलरसम्म हालेर किन्छन् । यो लागूऔषध बर्मा, लाओस, थाइल्यान्डलगायत देशबाट भारत हुँदै नेपाल भित्रिने गरेको छ । जेलमा रहेका आलमले तेस्रो मुलुकबाट भारत हुँदै नेपालसम्म यो लागूऔषध ल्याएर चिजकुमार र रेणुलाई भरियाका रूपमा प्रयोग गरी हवाईमार्गबाट विदेश पठाउने गरेको आशंका प्रहरीको छ ।
‘आइस ड्रग विश्वमै महँगो लागूपदार्थ मानिन्छ, अझ नेपाललगायत आयस्रोत कम भएका देश यसको बजार हुँदै होइन । चिजकुमारबाट रकम असुलेर तिर्न नसकेपछि दबाबमा परेका आलम र रेणु दुवैले लागूऔषध कारोबारको पोल खोलिदिएको पनि हुन सक्छ तर प्रहरी अधिकारी यो विषयमा बोल्न चाहेनन् । आइस ड्रग थकान हुन नदिन, मानिसलाई उत्तेजित पार्न, डर, त्रास भगाउन अनि उत्साहित बनाउन धूवाँका रूपमा सेवन गर्ने गरेको पाइन्छ । अझ युद्धमा लडाइँ गर्दा विद्रोही पक्षले गुरिल्ला तथा छापामारलाई सरकारी फौजसँग भिड्न पठाउनुअघि आइस ड्रगस लगायतका लागूपदार्थ सेवन गराउने गरेको पाइन्छ ।
यो सेवन गरेपछि फौजलाई लडाइँ लड्न उत्साह जाग्ने, आकाशमा उडेजस्तो अनुभूति हुने, थकान नलाग्नेलगायत गुण देखा पर्ने लागूऔषध कारोबारविरुद्धको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीको भनाइ छ । एसएसपी चौधरीले विदेशमा पठाउनेबाहेक नाइट क्लबमा पनि यसको खपत हुन सक्ने आशंकामा अनुसन्धान थालिएको बताए । प्रहरीले चिजकुमारको कोठाबाट डिजिटल तराजुसमेत बरामद गरेका कारण उनी पेसेवर कारोबारी भएको प्रहरीको दाबी छ । यसअघि प्रहरीले आव २०७५र०७६ मा १ केजी ३ सय २४ ग्राम, गत आवमा ६ केजी ४ सय ८३ ग्राम र चालु आव २०७७र०७८ पुससम्म ५ सय ३१ ग्राम आइसड्रग बरामद गरेको थियो । अधिकांश यो लागूपदार्थ भारतका विभिन्न नाका हुँदै नेपाल भित्रिएको थियो ।