
चुनाव वैशाखमै हुने प्रधानमन्त्री ओलीको दाबी

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनाव वैशाखमै हुने बताएका छन् । उहाँले अनावश्यक हल्लाका पछाडि नलागी चुनाव वैशाखमै हुने दाबी गर्दै त्यसका लागि जुट्न सबैलाई आग्रह गर्नुभयो ।
सरकार गठनको तीन वर्ष पुगेको अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिँदै उहाँले सानातिना नभइ राष्ट्रिय स्वार्थमा केन्द्रित हुन पनि आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही भएन भनेर विरोधीहरूले हल्ला चलाए पनि विश्वस्तरीय प्रतिवेदनले नेपालले क्रमशः आर्थिक, सामाजिक सुधार गरेको दाबी गर्नुभएको छ । उहाँले निराश हुनुपर्ने अवस्था नरहेको समेत बताए ।
तीन वर्षमा सरकारले गरेका कामको चर्चा गर्दै उहाँले पुनर्निर्माण तथा पुनर्स्थापना, सडक, शिक्षा, खानेपानी, कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गरेको बताए । रेलमार्ग तथा सञ्जाल विस्तार, जल यातायात, सुरुङ मार्ग, ठूला जलविद्युतको काम भइरहेको प्रधानमन्त्रीले बताए। उहाँले रेल छिट्टै सञ्चालनमा आउनेसमेत दोहोर्याउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मातृभूमिको रक्षा गर्न गम्भीरतापूर्वक लागेको र सरकारले सीमा विवाद समाधानमा निरन्तर पहल गर्दै आएको पनि उहाँले बताए।
अघिल्लो वर्षदेखि सरकारले भारतसँग प्रमाणसहित छलफल र बैठक गर्दै आएको ओलीको भनाइ छ । साथै उहाँले सीमा विवाद छिट्टै समाधान हुने विश्वास पनि व्यक्त गरेका छन् ।