
सेयर बजारमा गुल्जार : कारोबार रकम र कित्ताले रच्यो ऐतिहासिक रेकर्ड

साताको अन्तिम कारोबार दिन शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यसअघि दुई पटकको कारोबार रकमको उच्च रेकर्डलाई बिहीबार पुनः ब्रेक गरेको हो ।
बिहीबार रु. ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार बराबरको २ करोड २१ लाख ५३ हजार कित्ता शेयर कारोबार भएको हो । यसअघि गत मंसिर १४ गतेको रु. ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार बराबरको शेयर कारोबार रेकर्ड माघ ११ गते रु. ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार बराबरको शेयर कारोबारले ब्रेक गरेको थियो ।
बिहीवार भएको शेयर कारोबार कित्ता पनि हालसम्मकै उच्च रहेको छ । यसअघिको कारोबारमा २ करोडभन्दा कम कित्ता मात्र शेयर कारोबार भएको थियो । कारोबार रकममा सर्वाधिक हिस्सा भने नेपाल लाइफ इन्स्योरेन्सले नै ओगटेको छ ।
नेपाल लाइफको रु. ५७ करोड ६८ लाख ९१ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ६२ ले घटेर अन्तिम मूल्य रु. २ हजार ३४९ कायम भएको छ ।
बुधबार सर्किट लेभलमा बढेको कम्पनीको मूल्य बिहीबार २ दशमलव ५७ प्रतिशत घटेको हो ।
कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको दिन नेप्से परिसूचक भने १६ दशमलव ५५ अंक घटेर २ हजार ४२५ दशमलव २९ बिन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ३२ अंक घटेर ४४२ दशमलव शून्य ६ विन्दुमा बन्द भएको छ ।
बिहीबार निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३ दशमलव ३८ प्रतिशतले बढेको छ । यो दिन उत्पादन तथा प्रशोधनको २ दशमलव ८२ प्रतिशत र लघुवित्तको २ दशमलव १४ प्रतिशतले परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ ।
बैंकिङ समूहको सर्वाधिक २ दशमलव ३४ प्रतिशत परिसूचक घटेको हो भने व्यापारिकको शून्य दशमलव १७ प्रतिशत, होटलको १ दशमलव २७ प्रतिशत, विकास बैंकको १ दशमलव ७२ प्रतिशत, जलविद्युत्को १ दशमलव २१ प्रतिशत, वित्तको १ दशमलव ५५ प्रतिशत, अन्यको शून्य दशमलव ५७ प्रतिशत, जीवन बीमाको शून्य दशमलव २४ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ७९ प्रतिशत परिसूचक घटेको हो ।
बिहीबार सगरमाथा इन्स्योरेन्स र सूर्योदय लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको ९ दशमलव ९८ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ९ दशमलव ९७ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ९ दशमलव ९७ प्रतिशत, एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ९ दशमलव ७८ प्रतिशत र सारथि नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ४७ प्रतिशत बढेको छ ।
बजारले उच्च बिन्दु कायम गरिरहँदा लगानीकर्ताहरूले पछिल्लो समय अल्पकालीन नाफा बुक गर्न थालेको देखिन्छ । यसले गर्दा बजारमा सामान्य करेक्सन दोहोरिरहेको छ । बजारलाई व्यवस्थित र सबै नेपालीको पहुँचमा पु¥याउने प्रयास भइरहँदा कारोबार रकमले भने ऐतिहासिक रेकर्ड कायम गरिरहेको छ ।
उच्च रकमको कारोबारले निरन्तरता पाइरहेको अवस्थामा बजारप्रति आम लगानीकर्ताको विश्वास बढ्दै गएको अनुमान लगाउन सकिन्छ । प्राथमिक बजारमा १५ लाखभन्दा बढी लगानीकर्ता सहभागी भइसकेको अवस्थामा ती लगानीकर्ताको सहभागिता पनि दोस्रो बजारमा अवश्य हुनेछ ।