हालसम्मकै बढी कोरोना संक्रमित थपिए
शुक्रबार देशभर २ हजार ७ सय २२ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एकै दिन थपिने यो हालसम्मकै बढी हो ।
यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८२ हजार ४ सय ५० पुगेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ७ जना कोरोनाबाट निको भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २० पुगेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार मात्रै काठमाडौं उपत्यकामा १६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौंमा सर्वाधिक १ हजार २ सय ८०, ललितपुरमा १ सय ६२ र भक्तपुरमा १ सय ९६ गरी कुल १ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज १४ हजार ७३९ जनाको पीसीआर भएकोमा देशभर थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५ सयभन्दा बढी संक्रमित उपचाररत छन् । मनाङ, मुस्ताङ र डोल्पा जिल्ला संक्रमणमुक्त रहेका छन् ।