
आफ्नै ठाउँमा ड्राइभिङ सेन्टर खुलेपछि स्थानीयलाई सजिलो ।।

भोजपुरमा पहिलो पटक ड्राइभिङ सेन्टर (सवारी साधन सिक्ने ठाउँ) खुलेको छ । आफ्नै ठाउँमा सवारीसाधन सिक्न पाउने भएपछि सजिलो भएको स्थानीयले बताएका छन् । ड्राइभिङ सेन्टर खुलेसँगै सवारी साधन सिक्नको लागि पैसा खर्च गरेर धरान, विराटनगर तथा काठमाण्डौ धाउनु पर्ने वाध्यता हटेको भन्दै स्थानीय खुशी भएका हुन् । सवारी साधन प्रति स्थानीयको मोह बढ्दै गएपनि भोजपुरमा प्रशिक्षण केन्द्र नहुँदा स्थानीयलाई धरान वा विराटनगर पुग्नुपर्ने बाध्यता थियो । तर गत मंसिर १ गतेबाट जिल्लामै ड्राइभिङ सेन्टर सञ्चालनमा आएपछि सवारी साधन चलाउन सिक्न चाहनेको लागि सहजता भएको हो । टेम्केमैयुङ १ तिम्मा भोजपुरका भिम बहादुर तामाङका अनुसार यसले समय र खर्चको बचत भएको छ । आफ्नै ठाउँमा सहज रुपमा सवारी साधनको सीप लिन पाउँदा स्थानीय युवाहरु खुशी भएका छन् । स्थानीय तहले युवाहरुलाई स्वरोजगार बनाउनको लागि यस्ता खालका तालिम पनि दिनुपर्ने भोजपुर नगरपालिका ७ का समिर मोक्तान बताउनुहुन्छ । सदरमुकामबाट दुई किलोमिटर पूर्वमा स्थानीय युवा सुमन प्रधानले १२ लाख लगानीमा ५ रोपनी जग्गा १० वर्षको लागि भाडामा लिएर ड्राइभिङ सेन्टर सञ्चालनमा ल्याउनुभएको हो । ड्राइभिङ सेन्टरका सञ्चालक प्रधानका अनुसार पहिलो पटक जिल्लामा नै प्रशिक्षण केन्द्र खुलेपछि सिक्न आउनेहरुको भिड बढेको छ । विना सीप सवारी साधन चलाउँदा दुर्घटना हुने सम्भावना धेरै भएकाले यसको स्थायी निरन्तरताको लागि सरकारी पक्षबाटै पहल भए अझै राम्रो हुने स्थानीयको भनाइ छ ।
CIN